काठमाडौं । चालू आर्थिक वर्ष सुरू भएयता निजी लगानीका १० वटा आयोजना सम्पन्न भई प्रणालीमा ११६ मेगावाट बिजुली थप भएको छ।
यसबीचमा तीन सोलार आयोजना सम्पन्न भई १० मेगावाट ऊर्जा उत्पादन भएको छ। बाँकी ८ आयोजनाबाट ११० मेगावाट बिजुली थप भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यी मध्ये ५ आयोजनाबाट ५३.६ मेगावाट बिजुली प्रणालीमा थप भइसकेको छ।
यस्तै पाँच आयोजनाबाट ६३ मेगावाट बिजुली परीक्षण उत्पादन सुरू भइसकेको छ। ५ आयोजनाबाट आउँदो १५ दिनपछि व्यावसायिक रूपमा बिजुली उत्पादन हुने छ।
प्रणालीमा थप हुने आयोजनामा अपी पावर कम्पनी लिमिटेडको १ मेगावाटको सिमरा सोलार परियोजना रहेको छ। यस्तै नेसनल पावर कम्पनीको नबलपरासीमा ५ मेगावाटको सोलार परियोजना सम्पन्न भई बिजुली उत्पादन सुरू भएको छ।
प्राधिकरणका अनुसार प्रणालीमाआशुतोष इनर्जीको ८.६ मेगावाटको चेपेखोला, दोर्दी जलविद्युत कम्पनी लिमिटेडको १२ मेगावाटको दोर्दी–१ र हिमालयन पावर पार्टनर लिमिटेडको २७ मेगाावटको दोर्दीखोला जलविद्युत आयोजनाबाट व्यवसायिक रुपमा बिजुली उत्पादन भइसकेको छ।
यसैगरी सिद्धिपावर कम्पनीको ९९९ किलोवाटको सितिखोला आयोजना, पिपुल्स पावर लिमिटेडको पुवा–२, नेपाल सोलार फर्म प्राइभेट लिमिटेडको ४ मेगावाटको सोम राधाकृष्ण सोलार, स्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्सन लिमिटेडको २८.१ मेगावाटको लिखुखोला र लिवर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको अपर दोर्दीखोला ए आयोजनाबाट परीक्षण उत्पादन सुरू भएको छ।
चालू आर्थिक वर्ष सरकारले ८०० मेगावाट बिजुली थपेर जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ। गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी साढे ७०० मेगावट बिजुली प्रणालीमा थप भएको थियो।
४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाले उत्पादन सुरू गरेपछि गत वर्ष बिजुली उत्पादनमा नयाँ रेकर्ड कायम गरेको हो। यद्यपि चालू आर्थिक वर्षमा ८०० मेगावाटको लक्ष्य पूरा हुने संभावना कम छ।
चालू आर्थिक वर्षमा सार्वजनिक निजी लगानीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको तल्लो सान्जेन र माथिल्लो सान्जेन, ८६ मेगावाटको सोलु दूधकोसी, ५३ मेगावाटको दोर्दी र बलेफीलगायत आयोजनाबाट बिजुली थप हुने अनुमान सरकारको छ। सोलु दूधकोसी आयोजनाले केही दिनभित्रै बाँधमा पानी भर्ने काम सुरू गर्नेछ।