काठमाडौं। नेपालमा सबैभन्दा बढी चल्ने सवारीसाधनमा दुईपांग्रे (मोटरसाइकल/स्कुटर) पर्दछन्। विशेषगरी युवायुवतीका रोजाइमा मोटरसाइकल तथा स्कुटर परेको देखिन्छ।
दसैं–तिहार नजिकिएसँगै विभिन्न कम्पनीले उपभोक्ता आकर्षित गर्न ‘अफर’ ल्याउने गरेका छन्। यही चाडपर्वका बेला धेरैले सवारीसाधन खरिद गर्ने पनि गर्दछन्।
दसैं–तिहार नजिकिएसँगै मोटरसाइकल/स्कुटर विक्रेताले ग्राहक तान्न विभिन्न अफर ल्याएका छन्। दसैं सुरू हुनु अगाडि ल्याइएका यस्ता अफर तिहार तथा छठसम्म चल्नेछन्। अफरमा कम्पनीहरूले नगद छुट, बिमा सुविधालगायत अन्य आकर्षक उपहार व्यवस्था गरेका छन्।
विभिन्न कम्पनीले छठसम्मलाई बाइक र स्कुटरमा दिएका अफर यस्ता छन् :
हिरो
हिरो मोटरसाइकलले चाडपर्वका अवसरमा ‘आहा दसैं चाडपर्वको उमंग हिरो चढी दंग’ योजना ल्याएको छ।
नेपालका लागि हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले उक्त योजनाअन्तर्गत हिरोका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय रूपैयाँ पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एकजनाले १ लाख नगद पाउन सक्ने अफर ल्याएको जनाएको छ।
सबै हिरो मोटरसाइकल र स्कुटर शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा रहेको प्रालिका बजार व्यवस्थापक दिनेश बज्राचार्यले जानकारी दिए। ‘हिरोको अफर छठसम्म चल्ने छ,’ उनले भने।
बजाज बजाज मोटरसाइकलले दसैं–तिहार र छठ लक्ष्य गरी बाइकको मूल्यको एक चौथाइ अर्थात २५ प्रतिशतमात्र डाउनपेमेन्टमा खरिद गर्न सकिने योजना ल्याएको छ। नेपालका लागि बजाजको आधिकारी वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले २५ प्रतिशतमात्र डाउनपेमेन्ट गरी बाइक किन्न सकिने योजना चलिरहेको जनाएको छ। योजनाअन्तर्गत हरेक बजाज बाइक खरिदमा ७ हजार नगद छुट दिइएको कम्पनीले जनाएको छ।
यामाहा
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता यामाहा नेपालले दसैं, तिहार र छठ लक्ष्य गरी यामाहाका कुनै पनि बाइक वा स्कुटर खरिद गर्दा तत्कालै ‘स्योर सट’ उपहारमा ६ हजार रूपैयाँ जित्न सकिने योजना ल्याएको छ। कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत खरिदकर्ताले यो अफर पाउनेछन्। योजना नेपालभरिका सबै यामाहा शोरूममा चलिरहेको छ।
होन्डा
दसैं–तिहार लक्ष्य गरी होन्डाले ‘होन्डाको दसैंको शुभलाभ’ योजना ल्याएको छ। जसमा होन्डा बाइक तथा स्कुटर किन्दा ७ लाखसम्मको क्यासब्याक पाउन सकिने होन्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले जनाएको छ। ग्राहकले स्क्र्याच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक साथै सातै प्रदेशबाट एक–एकजनाले ७ लाख र बम्परमा लक्की ड्रमार्फत् १५ लाख नगद उपहार जित्ने अफर रहेको कम्पनीको भनाइ छ।
बेनेली
नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटिएम इन्टरनेसनल ट्रेडिङले पनि आकर्षक अफर ल्याएको छ। जसमा पहिलो ई–डिस्काउन्टअन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले क्युआर कोड स्क्यान गरी १ लाख रुपैयाँसम्म जित्न सकिने छ। यो क्युआर कोड मोटरसाइकल किन्न चाहने वा नचाहने दुवैले प्रयोग गर्न सक्नेछन्।
यस्तै मोटरसाइकल किन्ने निश्चित भइसकेपछि ग्राहकले वाक इन डिस्काउन्ट प्राप्त गर्नेछन्। जसमा ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र उक्त कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ। मोटरसाइकल किनिसकेपछि ग्राहकले ५ हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य सुविधा पाउनसक्ने कम्पनीले जनाएको छ।
टिभिएस
दसैं–तिहार अफर योजनाअन्तर्गत नेपालका लागि टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘कायापलट’ विशेष योजना ल्याएको छ। यसमा ग्राहकले टिभिएसका मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।
टिभिएस बाइक तथा स्कुटर किन्नुअघि १ लाखसम्म र किन्दा १० लाख तथा हरेक दिन रियलमी स्मार्ट फोन जित्न सकिने आकर्षक अफर रहेको कम्पनीले जनाएको छ।
त्यस्तै हरेक साता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार स्वरूप ५० लाख नगद पुरस्कार दिने योजना रहेको कम्पनीले जनएको छ। साथै बबाल फाइनान्स अफर, २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २ सयको मासिक किस्तामा पनि टिभिएसका बाइक तथा स्कुटर किन्न सकिने छ। दसैंबाट सुरु भएको योजना तिहारसम्म रहने जगदम्बा मोटर्सका बिक्री सहायक दिपिका थापाले जानकारी दिइन्।
मोटरहेड
दसैं–तिहार लक्ष्य गरी नेपालका लागि मोटरहेड ब्रान्डका आधिकारिक विक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले कात्तिक १५ सम्मका विभिन्न अफर चलाइरहेको छ। कम्पनीले मोटरहेड ब्रान्डका बाइक खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत ७ हजार ९ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने छ।
बम्परमा एकजनाले १ लाख रूपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको हो। कम्पनीले ‘टेक्कन २५०’ पुरानो मोडल जुनै पनि माध्यमबाट खरिद गर्दा सिधै २५ हजार रुपैयाँ छुट व्यवस्था पनि गरेको छ। कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा आउने ग्राहकलाई टेस्ट राइड गराइ उपहार दिने अफरसमेत व्यवस्था गरेको छ।
सुजुकी
सुजुकीले चाडपर्व लक्ष्य गरी ‘यसपालि सबैको एउटै राशि धनराशि’ नामक अफर ल्याएको छ। नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक विक्रेता भिजी सुजुकीले सुजुकी बाइक तथा स्कुटर खरिदमा १० हजार स्योरसट नगद छुट, १ वर्षसम्म निःशुल्क सडक कर र सहज एक्सचेन्ज तथा फाइनान्स सुविधाको योजना ल्याएको छ। अफर सुजुकीका देशभरिका शोरुमबाट पाउन सकिने कम्पनीले जनाएको छ।