काठमाडौं। गएको सेप्टेम्बरको दोस्रो साता विश्व बजारमा लन्च भएको एप्पल कम्पनीको आइफोन १४ नेपालमा ७ हजार थान भित्रिएको छ।
नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार विश्व बजारमा लन्च भएको एक महिनामा नै आइफोन १४ का लगभग ७ हजार थान मोबाइल नेपाल भित्रिएका छन्। जसमा ३ हजार ७ सय थान मोबाइल सक्रिय रहेको प्राधिकरणले जनाएको छ। बाँकी मोबाइल निष्क्रिय अर्थात् एमडीएमएस प्रणालीमा दर्ता नभएका कारण चलेका छैनन्।
दुरसञ्चार प्राधिकरणले भदौ ३० देखि बाहिरबाट ल्याइएका मोबाइललाई अनिवार्य एडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने नियम लागू गरेको छ। दर्ता नगरेका मोबाइल नचल्ने प्राधिकरणले जनाएको छ। त्यस्तै सरकारले विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै गत वैशाखबाट ३ सय अमेरिकी डलर भन्दा माथिका मोबाइलको आयातमा रोक लगाएकाे छ। तर विभिन्न माध्यमबाट महँगा मोबाइल नेपाल भित्रिने क्रम जारी छ।
नेपालमा यस्ता महँगा माेबाइल कसरी भित्रिन्छन् भन्ने कुरामा सराेकारवाला निकाय बेखबर छन्। नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलले महँगा माेबाइल कसरी भित्रिन्छ भन्ने विषयमाबारे केही थाहा नभएकाे जस्ताे प्रतिक्रिया दिए। उनी यस विषयमा खुलाउनै चाहेनन्।
उनका अनुसार दुरसञ्चार प्राधिकरणले भन्सार विभागको क्लिरियन्स हेरेरमात्र मोबाइललाई एमडीएमएस प्रणालीमा दर्ता गर्छ। अब ती मोबाइल कहाँ र कसरी भित्रिए भन्ने आफूले भन्न नसक्ने पाैडेलले बताए। 'प्रतिबन्धित मोबाइल त्यती ठूलो संख्यामा कसरी भित्रिए तपाईँ आफैं बुझ्नसक्नुहुन्छ,’ उनले भने 'आधाकारिक रूपमा किटान नभएको कुरा आफूले बोल्न मिल्दैन।'
वैशाखमा १० प्रकारका वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाएको सरकारले सोही प्रतिबन्ध पटक–पटक लम्ब्याउँदै आएको छ। कुरकुरे, हिरालगायत ६ प्रकारका वस्तुको प्रतिबन्ध १४ भदौमा फुकुवा गरेको थियो ।
सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयातमा लगाएको प्रतिबन्ध भने मंसिर २९ सम्मलाई थप गरेको छ। सरकारले लगभग ६ महिनादेखि आयातमा प्रतिबन्ध लगाए पनि यस्ता महँगा मोबाइलहरू भित्रिने क्रम रोकिएको छैन । त्यस्तै ३ सय अमेरिकी डलरमाथिका मोबाइहरू बजारमा छ्यापछ्याप्ती पाइन्छन्।
यस्तो छ सबैभन्दा महँगो आइफोनको मूल्य ?
सबै भन्दा महँगो आइफोनको ४ मोडल अमेरिकाको टेक कम्पनी एप्पल इंकले सेप्टेम्बर ८ मा सार्वजनिक गरेको थियो। जसअनुसार आइफोन–१४ प्रो म्याक्सको मूल्य नेपालमा २ लाख ६३ हजार ४ सय ४० रूपैयाँ पर्छ।
१ लाख ६४ हजार ५६० भारू रहेको आइफोन–१४ प्रो म्याक्सको नेपाली मूल्य २ लाख ६३ हजार ४ सय ४० रूपैयाँ पर्छ ।
यस्तै आइफोन–१४ प्रोको मूल्य नेपालमा २ लाख ४४ हजार ६ सय ८ रूपैयाँ, आइफोन–१४ प्लसको मूल्य २ लाख २३ हजार ८ सय ४० रूपैयाँ र आइफोन–१४ को मूल्य २ लाख ७ हजार ८ सय ४० रूपैयाँ पर्छ।
अमेरिकामा आइफोन–१४ को मूल्य ७ सय ९९ डलर र आइफोन–१४ प्लसको ८ सय ९९ डलर निर्धारण गरिएको छ ।