काठमाडौं। सरकारका मुख्यसचिव शंकरदास बैरागीले अरू तेस्राे परियोजना कार्यान्वनयमा आउने अवरोध, समस्या समाधान तथा सहजीकरणका लागि सबै निकायलाई निर्देशन दिएका छन्।
रूपान्तरणकारी योजनाका रुपमा निर्माणाधीन अरुण तेश्रो (९०० मेवा) जलविद्युत परियोजनाको उत्पादन तर्फको निर्माणस्थल र वितरणतर्फको प्रसारण लाइनको प्रगतिको सम्बन्धमा शुक्रबार एक उच्चस्तरीय अनुगमन भ्रमणका क्रममा आयाेजीत छलफल कार्यक्रममा बाेल्दै त्यास्ताे निर्देशन दिएका हुन्।
उनले विकासकर्ताले निर्वाह गर्नुपर्ने वातावरणीय र सामाजिक दायित्व तथा विभिन्न स्थानीय लाभका योजनाहरू तोकिएको समयमै कार्यान्वयन गर्न समेत निर्देशन दिए ।
यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतज्यूले अरुण तेश्रो जलविद्युत परियोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नमुना परियोजना रहेको चर्चा गर्दै यसलाई बिना अवरोध प्रभावकारी रूपमा अन्तरनिकाय समन्वयबाट तोकिएको समयमै सम्पन्न गरी मुलुकमा लगानीमैत्री वातावरण रहेको सन्देश प्रवाह गर्नुपर्ने बताए।
उनले परियोजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष लाभ स्थानीय बासिन्दा र नेपाल सरकारले समेत प्राप्त गर्ने हुँदा छिटोछरितो ढंगले परियोजना सम्पन्न गर्न सबै सरोकारवालासमक्ष आवश्यक सहयोगका लागि आव्हान गरे।
उक्त भ्रमणको नेतृत्व सरकारका मुख्यसचिव बैरागीले गरेका थिए। भ्रमणमा सरकारका सचिवहरू, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलगायत उच्चपदस्थ अधिकारीहरू तथा परियोजना विकासकर्ता कम्पनीका प्रतिनिधी समेतको सहभागिता थियो।
भ्रमणका क्रममा परियोजनाको बाँधस्थल, विद्युत गृह, प्रसारण लाइन क्षेत्रसमेतको स्थलगत अनुगमन गरी स्थानीय तह, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग संखुवासभा र धनुषा गरी दुई स्थानमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको थियाे।
उक्त कार्यक्रममा अरूण तेश्रो जलविद्युत परियोजना र प्रसारण लाइन तोकिएको समयमै सम्पन्न गर्ने सम्बन्धमा विकासकर्ताले उठाएका साथै परियोजना प्रभावित क्षेत्रका स्थानीय सरोकारका विषयमा छलफल भएको थियो।