काठमाडौं। चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स’ (बिवाइडी) को नेपालस्थित आधिकारीक बिक्रेता साइमेक्स इंक ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको छ।
लामो समयदेखि अटो (सेवा क्षेत्र) मा व्यापार बढाउँदै आएको साइमेक्सले राजधानीको चाबहिलमा तीन तारे स्तरको ‘ग्रान्ड भ्यु’ होटल सञ्चालनमा ल्याएको हो।
आन्तरिक एवं वाह्य पर्यटक लक्ष्य गरी निर्माण भएको उक्त होटलले ६ रोपनी क्षेत्रफल ओगटेको छ। विषेशगरी पशुपतिनाथ र बौद्ध दर्शनमा आएका पर्यटकलाई सहज बसोबासमा शान्त र मनोरम वातावरण दिने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको अप्रेसन म्यानेजर नरेन्द्र ठकुरीले जानकारी दिए।
‘अतिआरामदायी कोठा र यहाँको शान्त वातावरणले सबैको मन जित्ने छ,’ ठकुरीले क्यापिटल नेपालसँग भने, ‘ग्राहक सन्तुष्टिका लागि उत्कृष्ट सेवा दिन हामी तयार छौं।’
हाल होटलमा २५ कोठा छन्। केही समयपछि अझै २५ कोठा थप्ने तयारी रहेको उनले जानकारी दिए। ५० कोठा तयार भएपछि तीनतारे स्तर लिने प्रक्रिया अगाडि बढाउने ठकुरीको भनाइ छ।
‘अहिले पनि हामी तीनतारे सरहकै सेवासुविधा दिँदै आएका छौं,’ म्यानेजर ठकुरीले भने, ‘स्विमिङ पुल, स्पासहित अतिरिक्त सुविधा पनि थप्दै छौंं।’
ग्रान्ड भ्यु होटल प्रालिले सञ्चालन गरेको उक्त होटलबाट काठमाडौं उपत्यकाको मनारोम दृष्यावलोकन गर्न सकिन्छ। होटलमा सुपर डिलक्स, डिलक्सलगायत कोठा छन्। अहिले एउटा रेस्टुरेन्ट छ भने चाँडै रूफटप रेस्टुरेन्ट पनि सञ्चालन हुनेछ।
होटलमा सुरूवाती लगानी ४० करोड रुपैयाँबराबर भएको छ। पछिल्लो समय लगानी थप भएको र २५ वटा कोठा थप्दा अझै बढ्न सक्ने कम्पनीको भनाइ छ।
होटलका कोठा भाडा न्यूनतम ३० अमेरिकी डलरसम्मको छ। सबैलाई सहज होस् भन्ने उद्देश्यले न्यूनतम मूल्य निर्धारण गरिएको होटलले जनाएको छ। यो मूल्य सिजनअनुसार फेरबदल हुनेछ।
विवाह, व्रतबन्धसहित विभिन्न पार्टी आयोजना गर्न चाहनेलाई लक्ष्य गरी सुविधासम्पन्न ‘ब्यांक्वेट’ निर्माण गर्ने तयारी भइरहेको छ।
साइमेक्स इंकले बिवाइडी गाडीको आधिकारीक विक्रेताबाहेक म्यानपावर, ट्रेनिङ स्कुलसहित विभिन्न क्षेत्रमा लगानी गरेको छ।
इभीको चार्जिङ स्टेसन
विद्युतीय गाडी (इभी) भएकालाई होटलमा बस्दा चार्ज गर्न सहज होस् भन्ने उद्देश्यले चार्जिङ स्टेसनसमेत निर्माण गर्ने भएको छ।
होटलमा बिवाइडीको चार्जिङ स्टेसन रहने छ।
ग्राहकलाई अतिरिक्त सुविधा दिने उद्देश्यसाथ चार्जिङ स्टेसनको अवधारणा अघि सारिएको जनाएको छ। त्योसँगै इभीमार्फत ग्राहक संख्या र बसाइ हेरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म निःशुल्क ल्याउने र लैजाने व्यवस्थासमेत गर्ने भएको छ।