काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)ले ल्याएको सामानमा अधिक मूल्यांकन भएको भन्दै छानबिनको घेरामा परेको छ । प्राधिकरणको थोरै सामान तर, अधिक मूल्यांकन हुँदा विदेशी मुद्रा बढी खर्चनु पर्ने भएपछि छानबिनको दायरामा तानिएको हो ।
तर, उक्त सामान छुटाउन अहिले बिचौलियाहरु सक्रिय भएका मात्रै छैनन्, उनीहरुले अर्थमन्त्री जनार्दन शर्माको नाम पनि भजाइरहेका छन् । यसले एनटिएको सामान आयातमा ठूलै गडबढी भएको प्रष्ट्याउँछ ।
नियमित प्रक्रियाबाट सामान छुटाउने एनटिएको प्रयास विफल भएपछि विभिन्न बिचौलिया लगाएको थियो । बिचौलियले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख अरुण पोखेरललाईसमेत दबाब दिएका छन्।
भन्सार प्रमुखको प्रयासबाट पनि सामान नछुटेपछि बिचौलियाले अर्थमन्त्री शर्माको समेत नाम जोडेका थिए । अर्थमन्त्री शर्मा सामान छुटाउन लागिपरेका छन् भनेर बाहिर हल्ला चलाइरहेका छन्।
अर्थमन्त्री शर्माले उक्त सामानका बारेमा आफूले आजै मात्रै थाहा पाएको र उक्त सामानका बारेमा सूक्ष्म रुपले छानबिन गर्न विमानस्थल भन्सार कार्यालयले निर्देशन दिएको बताए ।
क्यापिटल नेपालसँग छोटो कुराकानी गर्दै शर्माले भने, ‘शंकास्पद सामान आएको भन्ने मैले केही घण्टा अघि मात्रै सुनेको हो । त्यो सामानको मूल्यांकन तथा अन्तर्राष्ट्रिय मूल्यका बारेमा समेत बुझ्न आफूले निर्देशन दिएको छु ।’
उक्त सामान कुन कम्पनी वा संस्थाले मगाएको भन्नेसमेत थाहा नभएको जानकारी दिए ।
विमानस्थल स्रोतका अनुसार उक्त सामान एक महिनाअघि आइपुगेको हो । सामान हेर्दा एउटा सामान्य पोको जस्तै देखिन्छ । तर, त्यो १ अर्ब रुपैयाँभन्दा बढी मूल्यांकन गरिएको छ ।
एनटिएका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले १०९ वटा प्रोक्स, ल्यापटप वीथ ड्राइभ टेष्ट र कन्ट्रोल प्यानल र मोबाइल सेट ल्याएको बताए । उनका अनुसार उक्त सामान लेवनानबाट मगाइएको हो । उक्त सामानका लागि ८८ लाख डलरको एलसी खोलिएको हो ।
बाहिर हल्ला नगरी भित्रभित्रै मिलाउने सर्तसहित उनले उक्त डकुमेन्ट आफ्नो कब्जामा लिएका छन् । देशभित्रबाट डलर बाहिर लैजाने उद्देश्यसहित सानो सामानको बढी मूल्यांकन गराएर ल्याएको हुन सक्ने विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु बताउँछन् ।
विमानस्थल भन्सार प्रमुख पोखरेलका अनुसार प्राधिकरणले सामान ल्याएको र आफू छुटाउन नलागेको दाबी गरे । सामान भन्सारमा आइपुगेको एक महिना भयो । ‘सामान्य अवस्थामा उनीहरुले दिएको डकुमेन्ट हेरेर सामान छुटाइन्छ’, उनले भने, ‘उक्त सामानको अध्ययन भइरहेको छ । खाद्यान्न छाडेजसरी यस्ता प्रवृत्तिका सामान छाड्न मिल्दैन ।’
अहिले प्राविधिक रूपमा अध्ययन दक्ष जनशक्ति आफूहरुसँग नभएकाले रोकिएको बताए । स्पेसिफिकेसनअनुसार सामान भए/नभएको बुझ्ने काम भइरहेको पोखरेलको भनाइ छ । एनटिएको नाममा सेञ्चुरी कमर्सियल बैंकबाट एलसी खोलेको हो । अहिले सामानको फिजिकल परीक्षण भइरहेको उनको दाबी छ ।