काठमाडौं । गुड कर्मा ग्रुप अफ कम्पनीज प्राइभेट लिमिटेडले राजधानीको महाराजगन्जमा लक्जरी अपार्टमेन्ट कर्मा रेजिडेन्सको निर्माण सुरु गर्न लागेको छ । ग्रुपले निर्माण थालेको लक्जरी अपार्टमेन्टको १२८ वटा कोठा रहने छ।
४ अर्ब ७९ करोड ९० लाख रुपैयाँ लगानी हुने सो लक्जरियस अपार्टमेन्टको काम पाँच वर्ष अर्थात् सन् ०२५/२६ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । रेजिडेन्सीमा ६० प्रतिशत बैंक र बाँकी ४० प्रतिशत स्वपुँजी स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ ।
संस्थापकको तर्फबाट अपार्टमेन्टका लागि जग्गा खरिदलगायतका काममा खर्च भइसकेको छ । अपार्टमेन्टको सिभिल संरचना, मेकानिकल उपकरण, प्लम्बिङका लागि निर्माण व्यवसायी छनाेट गरेको छ । बुकिङ खुलेको एक महिनामा ग्रुपले ४ करोड ७० लाख रुपैयाँ उठाइसकेको छ।
यद्यपि बैंकसँग ऋण लगानी सम्झौता हुन बाँकी रहेको छ । अपार्टमेन्ट पूर्वाधार बनाउन कम्पनीले काठमाडौं विकास प्राधिकरणबाट स्वीकृति लिइसकेको छ । काठमाडौं महानगरपालिका र वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति लिने प्रक्रियामा रहेको कम्पनीले जानकारी गराएको छ ।
अपार्टमेन्टको ३ वटा विङस रहने भएको छ । २.५ र ३.५ के अपार्टमेन्ट रहेका छन् । अपार्टमेन्ट निर्माणका लागि ग्रुपले ३ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ । बाँकी रकम संस्थापकहरुको स्वपुँजी (इक्विटी) रहेको छ । यद्यपि कम्पनीले बैंकहरुसँग लगानी सम्झौता गर्न बाँकी रहेको छ ।
सहरी क्षेत्रमा व्यवस्थित हाउजिङ र अपार्टमेन्टको माग बढेकाले निर्माण थालिएको ग्रुपले जनाएको छ । निर्माणधीन रेजिडेन्सीमा अमेरिकी, सउदी अरेबिया र अष्ट्रेलियाको दूतावासभन्दा ३०० मिटर टाढाको दूरीमा रहेको छ ।
ग्रुपले मेरियटको नयाँ फ्रेन्चाइजी ‘ले मेरिडियन’ पाँचतारे होटल पनि निर्माण गर्न लागेको छ । लागि गत वर्षको अगस्ट ७ मा मेरियटसँग सम्झौता सम्पन्न गरेको छ ।
कम्पनीले होटलसँगै रेसिडेन्सियल लक्जरी अपार्टमेन्ट पनि निर्माण गर्ने लागेको हो । यससँगै गुड कर्मा ग्रुप अफ कम्पनीजले होटल तथा अपार्टमेन्ट विल्डिङको व्यवसायमा प्रवेश गरेको छ ।
हाल उक्त होटल तथा अपार्टमेन्टको कन्सेप्ट तथा डिजाइन निर्माणको काम सम्पन्न भइसकेको छ । भारतमा धेरै ओटा मेरियट होलटहरूको डिजाइन र कन्सेप्टमा काम गरिसकेको नायक एण्ड एसोसिएट्सले डिजाइन तयार गरेको हो ।
मेरिडियन होटलमा १७० रुम, एउटा क्यासिनो, एउटा बार, दुइटा रेस्टुराँ, एउटा रुफटप डाइनिङ र एउटा बैंक्वेट हुनेछन् । गुड कर्माको एकल लगानी र सञ्चालनमा निर्माण हुन लागेको होटल र अपार्टमेन्ट परियोजनामा ६ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । जसमा होटलतर्फ ४ अर्ब ५० करोड र अपार्टमेन्टको मूल्य १ अर्ब ५० करोड रहनेछ ।
मेरियटको फ्रेन्चाइजी अन्तर्राष्ट्रिय स्तरको फाइभस्टार होटल ले मेरिडियनसँगै रहने उक्त अपार्टमेन्ट लक्जरी रेसिडेन्सियल अपार्टमेन्ट हुने र यसको प्रतियुनिट ३ देखि ५ करोडसम्म पर्ने बताइएको छ ।
ट्रेक कम्पनी टु दी हिमालयजको सफलता र साथीभाईको राम्रो प्रतिक्रियापछि गुड कर्मा ग्रुप अफ कम्पनीजको दायरालाई नयाँ ढंगले विस्तार गर्न यो व्यवसायमा प्रवेश गर्न लागेको हो ।