काठमाडौं । लाइसेन्स छाप्ने मास प्रिन्टर मेसिन र कार्ड आएको हप्तौं बितिसक्दा पनि स्मार्ट लाइसेन्स छपाइ अघि बढेको छैन । यातायात व्यवस्था विभागले असोज पहिलो हप्ता वा दशैं अगावै स्मार्ट लाइसेन्स छपाइ सुरु गर्ने भने पनि काम सुरु भएको छैन । विभाग आन्तरिक र प्राविधिक लफडामा रुमल्लिएपछि लाइसेन्स छपाइ प्रभावित भएको हो ।
यसअघि क्यापिटल नेपालसँग कुरा गर्दै विभागका महानिर्देशक गोगनबहादुर हमालले असोज पहिलो हप्तादेखि लाइसेन्स छपाइ सुरु गर्ने र ट्रायल पास गरेका चालकलाई एक हप्तामै स्मार्ट कार्ड उपलव्ध गराउने बताएका थिए ।
तर, अहिले विभिन्न प्राविधिक समस्याका कारण दशैंअघि लाइसेन्स छाप्न नसक्ने जानकारी गराएका हुन् । उनका अनुसार, लाइसेन्स छपाइ सुरु हुन तिहार लाग्ने देखिन्छ ।
असोज पहिलो हप्ता छाप्ने भन्नुभएको थियो । तर, के कारणले छपाइ कार्य लम्बियो भन्ने प्रश्नमा हमालले भने, ‘लाइसेन्स कार्डको साइज, मेसिन विभिन्न पाटपुर्जा र मेसिनको सेटिङ मिलाउन नै बाँकी छ । काम सकिएको छैन्’ उनले भने, ‘दशैं बिदापछि कर्मचारी आउँछन् । त्यसपछि मात्रै छपाइ कार्य अघि बढ्छ ।’
विभागले झन्डै १० लाख स्मार्ट कार्ड तीन महिनाभित्र छापिसक्ने योजना बनाएको थियो । अहिले ४ लाख छपाइ गर्ने कार्ड विभागमा आइसकेका छन् । मास प्रिन्टर मेसिन भने गत भदौ पहिलो हप्ता विभागमा भित्र्याइ सकिएको थियो ।
लाइसेन्स छाप्न दुइ महिनादेखि मेसिन फिटिङको काम भएपनि पूर्णरुपमा नसकिएकाले विभागले जनाएको छ । अहिले नेपालभरी ट्रायल दिएर बसेका तीन लाख सवारी चालकले स्मार्ट कार्ड पाएका छैनन् ।