काठमाडौं। ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडिएमएस) प्रणाली सुरुभएदेखि हालसम्म ५ हजार १ सय ५५ थान मोबाइल फोन सेट व्यक्तिगतरूपमा दर्ता भएका छन्।
नेपाल दुरसञ्चार प्राधिकरणले गत भदौ ३० बाट एमडिएमएस प्रणाली सुरु गरेको थियो। जसमा विदेशबाट ल्याइएका मोबाइल फोन सेटलाई अनिवार्य एमडिएमएस प्रणालीमा दर्ता गर्नुपर्ने हुन्छ।
प्राधिकरणले भदौ ३० सम्म नेपाल भित्रिएका मोबाइललाई स्वतः एमडिएमएस प्रणालीमा समावेश गरेको थियो।
प्राधिकरणका अनुसार हाल एमडिएमएस प्रणालीमा मोबाइल आधिकारिक विक्रेता र व्यक्तिगत गरी दुई तरिकाबाट दर्ता हुने गरेको छ। जसमा हालसम्म व्यक्तिगतरूपमा ५ हजार १ सय ५५ थान मोबाइल दर्ता भएका छन्।
व्यक्तिगतरूपमा दर्ता भएका मोबाइलमा अधिकांश विदेशबाट नेपाल आउने व्यक्तिले आफूले चलाएको मोबाइलसँगै अर्को एउटा ल्याउन पाउने व्यवस्थाअनुसार भित्रिएको प्राधिकरणले जनाएको छ।
तर, यो प्रणाली लागू भएदेखि हालसम्म कुनै मोबाइललाई पनि बन्द भने नगरिएको प्राधिकरणका उपनिर्देशक दिनेश मैनालीले जानकारी दिए।
‘एमडिएमएस प्रणालीमा दर्ता नभएका मोबाइललाई हामीले म्यासेज नै पठाएर दर्ता गर्न १५ दिनको म्याद दिन्छौं,’ मैनालीले क्यापिटल नेपालसँग भने ‘त्यसपछि पनि दर्ता नगर्नेको मोबाइल स्वतः नचल्ने हुन्छ। तर, हामीले दर्ता नगरेको भनेर कुनै पनि मोबाइल हालसम्म बन्द गराएका छैनौं।’
मैनालीका अनुसार यो प्रणाली नयाँ भएकाले प्राधिकरणले सेवाग्राहीलाई कठिनाइ नहोस् भनेर बढी समय उपलब्ध गराएको हो। विगत वर्षका तथ्यांक हेर्दा संस्थागतरूपमा नेपालमा औसत मासिक ५ लाख मोबाइल आयात हुने गरेको छ।
एमडिएमएस प्रणाली लागू भए पनि संस्थागतरूपमा भित्र्याउने कम्पनीले भने ‘नो अब्जेक्सन’ का रूपमा मोबाइल आयात गर्ने गरेका छन्। जसबाट संस्थागत हिसाबमै मोबाइल एमडिएमएस प्रणालीमा दर्ता हुने गरेको छ।
तर, एमडिएमएस प्रणाली लागू भएदेखि अर्थात् भदौ ३० देखि यस प्रणालीमा दर्ता भएका मोबाइलको मात्रै तथ्यांक भने प्राधिकरणसँग छैन।
एमडिएमएस प्रणाली अनिवार्य गरेदेखि भन्दा अगाडिकै तथ्यांक प्राधिकरणले एकै ठाउँमा राखेकाले त्यसको मात्र तथ्यांक नभएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले तथ्यांक राख्न सुरु गरेदेखि हालसम्म ५ करोड ९८ लाख ७५ हजार ८ सय ४ मोबाइल ‘इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी’ (आइएमइआई) भएका छन्। यो आइएमइआई भएका र एमडिएमएस प्रणालीमा दर्ता भएका मोबाइलको समग्र संख्या हो।
एमडिएमएस लागूपछि सेवाग्राहीको चहलपहल बढ्दो
एमडिएमएस प्रणाली अनिवार्य लागू भएदेखि दूरसञ्चार प्राधिकरणमा सेवाग्राहीको चहलपहल सामान्यभन्दा बाक्लिएको छ। एमडिएमएस प्रणाली लागू भएदेखि यस विषयलाई लिएर प्राधिकरणमा विविध जिज्ञासासाथ आउने सेवाग्राही संख्या बढेको प्राधिकरणका सूचना अधिकारी सूर्यप्रसाद लामिछानेले जानकारी दिए।
‘सेवाग्राहीहरू पहिला पनि आउनुहुन्थ्यो। तर एमडिएमएस प्रणाली लागू भएपछि भने केही बाक्लोरूपमा आएको हामीले पाएका छौं,’ लामिछानेले भने, ‘बाहिरबाट ल्याएका मोबाइललाई एमडिएमएस प्रणालीमा दर्ता गर्नेदेखिका प्रक्रिया पूरा गर्दा पनि एमडिएमएस प्रणाली नचलेको विषयलाई लिएर सेवाग्राही आउने गरेका छन्।’
नेपालभित्र मोबाइलको गैरकानुनी आयात रोक्न भन्दै प्राधिकरणले भदौ ३० बाट एमडिएमएस प्रणाली सुरु गरेको थियो। चोरी भएका तथा हराएका मोबाइल ट्र्याकिङ÷ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने बनाउन यो प्रणाली लागू गरिएको भन्दै प्राधिकरणले मोबाइल आयातकर्ता तथा विक्रेतालाई दर्ता भएका मोबाइलमात्र बिक्री गर्न निर्देशन दिएको थियो।
सरकारले विदेशबाट आउने व्यक्ति आफूले चलाइरहेको मोबाइलबाहेक अर्को एउटा मोबाइल साथमा ल्याउन पाउने व्यवस्था छ। तर, उक्त मोबाइल चलाउन पनि प्राधिकरणले व्यवस्था गरेको प्रक्रिया पूरा गरेर अनिवार्य एमडिएमएसमा दर्ता गर्नुपर्ने हुन्छ।
मोबाइल एमडिएमएस प्रणालीमा कसरी दर्ता गर्ने?
प्राधिकरणले उपलब्ध गराएको अनलाइन पोर्टलमा गएर मोबाइललाई एमडिएमएस प्रणालीमा दर्ता गर्न सकिने व्यवस्था छ। दर्ताका लागि फारम भर्दा सुरुमा दर्ता गर्न लागिएको मोबाइल फोनको सम्पूर्ण विवरण भर्नुपर्छ। मोबाइलको आइएमइआई नम्बर, ब्रान्ड, मोडल र उक्त सेट प्रयोगमा छ वा छैन भन्ने खुलाउनुपर्छ।
त्यसपछि आवेदक आफूले प्रयोग गर्ने इमेल ठेगाना राखेर ‘वान टाइम पासवर्ड’ (ओटीपी) मार्फत प्रमाणीकरण गर्नुपर्ने हुन्छ। यो पक्रिया पुरा गरेपछि आवेदकले व्यक्तिगत विवरणको खण्डमा आफ्नो विवरण भर्नुपर्छ र आवेदकले उक्त मोबाइलमा प्रयोग गरिने नेपाली मोबाइल नम्बर राख्नुपर्ने हुन्छ।
मोबाइल नम्बर राखेपछि पासपोर्टमा उल्लेखित ठेगाना राख्नुपर्छ र नेपाल भित्रिएको ‘अराइभल डिटेल्स’ मा आवेदकले कुन देशबाट नेपाल फर्केको र कहिले फर्केको विवरण उपलब्ध गराउनुपर्ने हुन्छ।
आवेदक आफैंले उक्त मोबाइल प्रयोग गर्ने भए मोबाइल युजर डिटेलमा सेल्फ छनोट गर्नुपर्छ र प्रयोगकर्ता अरू नै भए पनि निजको विवरण उक्त खण्डमा उपलब्ध गराउनुपर्छ।
अर्को चरणमा आवेदक आफूले भरेको विवरण यकिन गर्दै आवेदनसँग सम्बन्धित कागजात जस्तै पासपोर्ट, अध्यागमन विभागको राष्ट्र प्रवेश गरेको छाप, मोबाइल खरिद गरेको बिजकलगायत विवरण स्पष्ट बुझिने स्क्यान कपी अपलोड गरी फारम बुझाउनुपर्छ। आवेदन सफल भएपछि इमेलमार्फत नै प्राधिकरणले आवेदकलाई जानकारी पठाउँछ।