काठमाडौं। वित्तीय अनुशासन पालना गराउने नाममा एकपछि अर्को कानुन कार्यान्वयनमा ल्याएपछि त्यसको सिधा असर व्यापारमा परेको एक अध्ययनले देखाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले गरेको अध्ययनअनुसार बजारमा लगानीयोग्य रकमको अभाव, मागमा आएको कमी र वित्तीय अनुशासन कायम गर्न ल्याइएका नीतिका कारण व्यापारमा ठूलो गिरावट आएको हो।
‘अर्थतन्त्र चलायमान बनाइरहने क्षेत्रको व्यापार ७० प्रतिशतसम्म घटेको छ,’ अध्ययन प्रतिवेदनमा छ, ‘निर्माणजन्य उद्योग, रेडिमेड गार्मेन्ट तथा जुत्ताचप्पल, ‘एफएमसिजी’ भित्रका (खाद्यान्न र बेभरेज) बाहेक, अटोमोटिभ र इलेक्ट्रोनिक्स, बिमा क्षेत्र (जीवन र निर्जीवन) व्यापारमा न्यूनतम ५० देखि अधिकतम ७० प्रतिशतसम्म गिरावट आएको छ।’
महासंघका अध्यक्ष शेखर गोल्छाले अध्ययन प्रतिवेदनपछि व्यवसायीहरू थप निराश बनेको बताए। ‘अर्थतन्त्रमा मुख्य–मुख्य क्षेत्रको अध्ययन गरिएको थियो। त्यसमा बैंकबाहेक हरेक क्षेत्रको अवस्था बिग्रिएको छ,’ उनले भने, ‘सेवा क्षेत्रमा आसाको त्यान्द्रो बाँकी छ। अन्य सबै क्षेत्र भयावह अवस्थामा छन्।’
महासंघको सर्वेक्षणमा निर्माण उद्योगको व्यापार ६० प्रतिशत, रेडिमेड गार्मेन्ट तथा जुत्ताचप्पल उद्योगको व्यापार ७० प्रतिशत, एफएमसिजीको ४० प्रतिशत, अटोमोटिभ र इलेक्ट्रोनिक्सको ८० प्रतिशत घटेको देखिएको हो।
यी सबै तथ्यांक विश्लेषण गर्दा मुलुकको अर्थतन्त्र चिन्ताजनक अवस्थाबाट गुज्रिएको अध्यक्ष गोल्छाले बताए। ‘नेपालको अर्थतन्त्रमा दुईथरी असर देखापरेको छ। एउटा आन्तरिक र अर्को वाह्य,’ उनले भने, ‘वाह्य कारणसामु हाम्रो केही नलागे पनि आन्तरिक कारण सल्टाउन सरकार अघि सर्नुपर्छ।’
बजारमा लगानीयोग्य रकमको चरम अभाव छ। व्यवसायीले नयाँ कर्जा नपाएको एक वर्ष हुन थालिसक्यो। बैंकले ८० प्रतिशतसम्म ब्याज बढाइसकेका छन्। उद्योगबाट उत्पादित सामग्री गोदाममै थन्काएर राख्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि सरकार अग्रसर भएन भने निकट भविष्यमा गम्भीर आर्थिक संकटमा देश फस्न सक्ने गोल्छाको आँकलन छ।
महासंघका कार्यकारीणी सदस्य तथा उद्योगपति राजेशकुमार अग्रवालका अनुसार उद्योगहरू कूल क्षमताको २० प्रतिशतमात्रै चलेका छन्। त्यसबाट उत्पादन भएको ६० प्रतिशत सामान गोदाममै थन्काएर राख्नुपर्ने अवस्था छ।
‘गोदाममा राख्ने ठाउँ नभएकाले उद्योग बन्द गर्नुपर्ने अवस्था छ,’ अग्रवालले क्यापिटल नेपालसँग भने, ‘उत्पादनमात्रै गरेर के गर्ने? बिक्री हुँदैन। सामानको माग नै शून्यप्रायः छ।’
उद्योगी–व्यवसायी टाट पल्टिएको अवस्थामा त्यसको सिधा असर बैंकमा पर्ने उनको भनाइ छ। ‘व्यवसायबाटै उद्योगीले बैंकको साँवा ब्याज तिर्ने हो,’ उनले भने, ‘व्यापार नै ठप्प भएपछि बैंकलाई कहाँबाट ल्याएर भुक्तानी गर्ने?’