काठमाडौं । मेगा बैंक नेपालले ग्राहकहरुलाई सहज रूपमा घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र सञ्चालन निर्देशिका, २०७६ तथा भू–सेवा केन्द्र सञ्चालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू–सेवा केन्द्र सञ्चालनको अनुमति लिई घर, जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने सुरुवात गरेको मेगा बैंकले जनाएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आयोजित समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया तथा मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भयो ।
साे समझदारीपत्रमा मेगा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका तर्फबाट महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरे ।
भू–सेवा केन्द्र सञ्चालनमा आएपछि घर, जग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गा धनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरूमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरू अनलाइनमार्फत पेश गरे पुग्ने बैंकले जनाएको छ ।
साे बैंकबाट रोक्का तथा फुकुवा कार्य गर्न सकिने हुँदा बैंक, सेवाग्राही तथा सम्बन्धित मालपोत कार्यालयहरुलाई समेत रोक्का तथा फुकुवा कार्यमा सहजीकरण हुने विश्वास मेगा बैंकको छ ।
यसबाट सेवाग्राही तथा बैंकको समय तथा लागतको समेत बचत हुन गई समयमा नै बैंकिङ सुविधा उपभोग गर्न सकिनेछ भने मालपोत कार्यलयहरुमा समेत बैंकको रोक्का तथा फुकुवा कार्यका लागि सेवाग्राहीहरुको भीडमा कमी आई अझै प्रभावकारी ढंगबाट विश्वसनीय सेवा प्रवाह गर्ने वातावरण सिर्जना हुने मेगा बैंकले विश्वास लिएको छ ।