काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा स्थापना भएको होङसी शिवम् सिमेन्टस् प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा केही कमी आएको छ । । होङसीको सन २०२२ मा सञ्चालन आम्दानी बढेर १७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
सन् २०२१ मा होङसीले १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । यद्यपी गत वर्षको तुलनामा यो वर्ष उद्योगको आम्दानीमा कमी आएको छ । सन् २०२० मा १३ अर्ब ३७ करोड १० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो ।
यस्तै २०१९ मा १३ अर्ब ४८ करोड ४० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । उद्योगको कुल आम्दानीमा क्लिङकर व्यापारको हिस्सा ४७ प्रतिशत रहेको छ । बाँकी ५३ प्रतिशत सिमेन्ट बिक्रीबाट आम्दानी हुने गरेको वित्तीय विवरणमा उल्लेख छ ।
उद्योगले होङसी ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । कोभिड महामारी र आर्थिक संकटका कारण अहिले सिमेन्टको मागमा आएको गिरावटले उद्योगलाई थप चुनौति थपिएको छ ।
आर्थिक गतिविधिमा आएको मन्दीको असर सिमेन्ट व्यवसायमा पनि परेको देखिन्छ । रुस र युक्रेन युद्धका कारण विश्व बजारमा कोइलाको मूल्यमा भएको बढोत्तरीले सिमेन्ट उत्पादन लागत बढ्दा मार्जिनमा असर परेको उद्योगले जनाएको छ ।
उद्योग सञ्चालन गर्दै आएका चिनियाँ र नेपाली दुबै कम्पनीको ट्रयाक रेकर्ड राम्रो रहेको छ । बैंक अफ चाइना र मिन्सेङ बैंकले कर्जा सीमाको ग्यारेन्टी गरेका छन् । उद्योगले नियमित बिजुली पाइरहेको छ ।
उद्योगले ६ अर्ब ५० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । सन् २०१५ मा स्थापना भएको होङसीले सिमेन्ट र कच्चा वस्तु क्लिङकर उत्पादन गर्दै आएको छ । उद्योगको वार्षिक २० लाख टन क्लिङकर र २३ लाख टन सिमेन्ट उत्पादन क्षमता रहेको छ ।
उद्योगमा हङकङ रेडलाइन सिमेन्ट नम्बर–३ लिमिटेडको ७० र बाँकी शिवम सिमेन्ट लिमिटेडको ३० प्रतिशत स्वामित्व रहेको छ । शिवमको हेटौडमा कारखाना रहेको छ ।
होङसी नवलपरासीको वेनी मनिपुर गाउँपालिकामा रहेको छ । उद्योगले सन् २०१८ को मार्चदेखि सिमेन्ट र सोही वर्षको मेदेखि क्लिङकर उत्पादन थालेको हो ।
हङकङ लायनले चीनमा मात्र ५० वटा सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ । कम्पनीले इन्डोनेसिया, लाओस र म्यानमारमा पनि सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ ।
नेपालमा मात्रै ५५ वटा सिमेन्ट र २० वटा क्लिङर उत्पादन गर्ने उद्योग सञ्चालनमा आएकाले बजारमा तीव्र प्रतिस्पर्धा रहेको छ । अझै केही ठूला सिमेन्ट तथा क्लिङकर उद्योग सञ्चालनमा आउने तयारीमा रहेका छन् । प्रतिस्पर्धाले गर्दा सिमेन्टको मूल्यमा निरन्तर गिरावट आइरहेको छ ।