पोखरा। विश्वबजारमा तीव्र गतिमा बिक्री भइरहेको बिवाइडीको विद्युतीय कार एटो ३ शनिबार पोखरामा सार्वजनिक हुँदैछ। पर्यटकीय सहर पोखरामा युनिक फिचर्स र डिजाइनमा बनेको इभी कार एटो ३ पोखराको बिवाइडी सोरुम उत्तमचोकमा सार्वजनिक हुन लागेको हो।
पोखराका लागि आधिकारिक बिक्रेता प्लगइन अटोमोबाइल्सले एटो ३ सार्वजनिकसँगै बिवाइडीको एक्सुसिलिभ शाेरुम पनि उद्घाटन हुने जनाएको छ। चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स (बिवाइडी) को एटो ३ लाई बहुप्रतीक्षित प्रिमियम एसयुभी मानिन्छ ।
पोखराका कर्पाेरेट हस्ती, सामाजिक व्यक्तित्व र सञ्चारकर्मीबीच सार्वजनिक हुन लागेको एटो ३ को आइतबारदेखि नै बुकिङ खुला हुने कम्पनीले जनाएको छ। ८९ लाख ९० हजार रूपैयाँ पर्ने एटो ३ को ३ लाख रुपैयाँमा बुकिङ गर्न सकिने प्लगइन अटोमोबाइल्सका प्रबन्ध कृष्ण काफ्लेले बताए।
'एटो ३ को आइतबारदेखि 'टेस्ट ड्राइभ' पनि गर्न सकिन्छ,' उनले भने। नेपालका लागि बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले गत शनिबार एटो ३ घरेलु बजारमा उतारेको थियो। एटो ३ ले पछिल्लोपटक विश्वबजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गत साता भारत र मंगोलियामा पनि एटो ३ सार्वजनिक भएको थियो।
आकर्षक फिचर र लक्जरियस सुविधाका कारण विश्वबजारमा लोकप्रिय भएको एटो ३ ले नेपाली उपभोक्ताको मन पनि छिटै जित्ने विश्वास कम्पनीले लिएको छ। एटो ३ का ब्रान्ड एम्बेसेडरका रूपमा हरिवंश आचार्य छन्। एटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ। बिवाइडीले तयार पारेको ब्लेड ब्याट्रीले कारलाई पूर्णसुरक्षित पारेको छ।
एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ। नेपालमा उपलब्ध बिवाइडीका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ। यसको एक्सिलिरेसन पावर झन उत्कृष्ट छ। एटो ३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्छ।
एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जसमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ। त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम सुविधा पनि यसमा उपलब्ध छ।
एटो ३ को बाहिरी डिजाइन आकर्षक छ। थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन्। पोखरामा यसअघि बिवाइडीको ई-६ कार बिक्री वितरण भइसकेको छ।