काठमाडौं। पाँचतारे होटलसहितको ‘गोपीकृष्ण सेन्टर कम्प्लेक्स’ (जिकेसिसी) निर्माण आगामी माघबाट सुरु हुने भएको छ। राजधानीको चाबहिलस्थित गोपीकृष्ण चलचित्र हलको भवन भत्काएर बन्न लागेको पाँचतारे होटलसहितको ‘बिजनेस कम्प्लेक्स’ निर्माण हुन लागेको हो।
फिल्म हलका रूपमा चर्चित गोपीकृष्ण हल भत्काएर नाम परिवर्तन गरी जिकेसिसी निर्माण गर्न लागिएको हो।
जिकेसिसीको डिजाइनको काम भइरहेकाले आगामी माघ अन्तिम साताबाट मात्रै पूर्वाधार निर्माणको काम सुरु हुने भएको हो। उक्त भवन डिजाइन चिनियाँ कम्पनीले गरिरहेको छ। तर, निर्माण बोलपत्र आह्वान हुने जिकेसिसीका प्रबन्ध निर्देशक निरक पौडेल बताउँछन्।
गत वर्ष नै निर्माण सुरु हुने भने पनि कोरोना महामारीलगायत कारण पूर्वाधार निर्माणको काम सुरु हुन सकेको छैन।
‘हाम्रो आन्तरिक कारण केही ढिलाइ भएको हो। बैंकले ऋण दिने विषयमा कुरा भइरहेको छ, तर फाइनल हुन सकेको छैन,’ पौडेलले क्यापिटल नेपालसँग भने।
उनका अनुसार १० रोपनी जग्गामा पाँचतारे होटलसहितको भवन निर्माण हुनेछ। जसको समग्र लागत ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। भवन ‘अन्डर ग्राउन्ड’ दुई तलासहित १६ तलाको अग्लो हुनेछ। निर्माण सुरु भएको दुई वर्षमा होटल तथा अन्य व्यवसाय सञ्चालनमा आउने पौडेल बताउँछन्।
ऋण लिन १५ भन्दा बढी बैंकसँग छलफल
६ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने भएकाले जिकेसिसीको आफ्नो पैसाले भवन निर्माण गर्न सम्भव हुँदैन। जसका कारण बैंकसँग ऋण लिनुपर्ने हुन्छ। तर, तरलता संकटका कारण ऋण पाउन सहज नभएको पौडेल बताउँछन्।
‘१५/२० वटा बैंकसँग ऋणका लागि कुरा गरेका छौं तर, तरलता संकटले लगानी जुटाउन केही समस्या भएको छ। त्यसैले निर्माण सुरु हुन पनि ढिलाइ भएको हो,’ उनले भने, ‘कम्पनीको सम्भाव्यता राम्रो भएकाले जिकेसिसीमा लगानी गर्न सरकारी र निजी बैंक तयार छन्।’
कति रकम ऋण लिने भन्ने अहिले भन्न नसकिने पौडेलको भनाइ छ। बैंकअनुसार होटल तथा अन्य व्यवसायमा लगानी गर्ने प्रतिशत छुट्टाछुट्टै हुने भएकाले अहिले नै कूल लगानीको कति प्रतिशत रकम ऋण लिने भन्न नसकिएको उनले बताए।
फरक–फरक बैंकले होटल व्यवसायमा लगानी गर्ने रकम निर्धारण गर्छन्। सामान्यतयाः कूल लगानीमध्ये ६० देखि ८० प्रतिशतसम्म रकम बैंकले दिने गर्छन्।
१६ तलाको उक्त भवनमा पाँचतारे होटलसँगै छतमा हेलिकोप्टर बस्न मिल्ने ‘हेलिप्याड’ बनाइने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ, बौद्ध, अस्पताललगायत क्षेत्र ख्याल गरेर हेलिकोप्टर बस्न मिल्ने बनाउन लागेको जिकेसिसीले जनाएको छ।
पाँचतारे होटलमा १ सय ५७ कोठा रहने छ। साथै ग्रिनरी, चिल्ड्रेन पार्क, फुडपार्क, गेमिङ जोनलगायत रहनेछन्। पाँच तलासम्म सपिङ कम्प्लेक्स र त्यसभन्दा माथि लक्जरी होटल हुनेछ।
गोपीकृष्ण कुनै समय मुलुककै ठूलो र सबैभन्दा बढी चलेको फिल्म हल थियो। एउटै भवनभित्र धेरैवटा हल भएको गोपीकृष्ण मुभिजको भवन भत्काएर पाँचतारे होटलसहितको कम्प्लेक्स बन्न लागेको हो।
कोरोना महामारीका कारण २०७६ चैतदेखि सुरु भएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय हल सञ्चालन हुन सकेन।
चलचित्र क्षेत्रमा मन्दी आएसँगै सञ्चालक उद्धव पौडेलले चलचित्र भवन भत्काएर पाँचतारे होटलसहित गोपीकृष्ण कम्प्लेक्स सेन्टर बनाउने तयारी थालेका हुन्।
चलचित्र व्यवसायी पौडेलले २०५३ सालदेखि सञ्चालन गर्दै आएको उक्त फिल्म हल नचलेपछि बिजनेस सेन्टरमा परिणत गर्न लागिएको हो।
यसअघि गोपी, कृष्ण, राधा, मीरा, ओम, नम र शिवाय नामका सातवटा हल सञ्चालनमा थिए। अहिले बाँकी तीन हल पनि आधुनिक प्रविधि प्रयोग गरेर परिमार्जनसहित सञ्चालनमा आएका छन्।