काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसँग झनै कमजोर हुन पुगेको छ । अब १ डलर किन्न १३३.१४ रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ । डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
नेपाल राष्ट्र बैंकले बिहीबारलाई १ डलर बराबर १३३.१४ रुपैयाँ बिक्रीदर तोकेको छ । यस्तै खरिद दर १३२.५४ रुपैयाँ छ । बुधबार १ डलर बराबर १३२.८ रुपैयाँ थियो । तर बिहीबार एक्कासी बढेर १३३ रुपैयाँ नाघेको छ ।
भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो । बिहीबार १ डलरबराबर ८२.३७ भारु पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ ।
भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । डलरको ग्राफ उकालो लाग्दै गएको छ । हरेक दिन नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । नेपालमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदै अन्य मुद्रा कमजोर बन्दै गएका छन ।
डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीतिको ग्राफ पनि ८.२६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।
रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो। डलर मजबुत भएपछि भारु कमजोर हुँदै गएको छ । डलर महंगो बने पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ।
कच्चा तेलको मूल्य ब्यारेलको ९० डलर नजिक आएको छ। डलरको सञ्चिति घट्दै गएपछि भारतले सुन आयातमा भन्सारदर बढाएको छ । नेपालले पनि गाडीलगायत १० वस्तुको आयातमा प्रतिवन्ध लगाएको छ। नेपालको डलर सञ्चिति ९ अर्ब ४२ करोड रहेको छ।
यता मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर बढाएपछि उदीयमान अर्थतन्त्रबाट लगानी अमेरिकातर्फ गएको छ। उदीयमान अर्थतन्त्रबाट अमेरिकातिर लगानी प्रवाह होउन्जेल विश्वबजारमा डलर महँगो भइरहनेछ ।
अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । अहिले भारत, चीन, अमेरिका र युरोप मूल्य वृद्धिको चपेटामा छन। अमेरिकामा मूल्य वृद्धिदर दुई अंक नजिक पुगेको छ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन्। रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्राको सञ्चिति वृद्धिमा सघाउ पुग्नेछ। घटिरहेको विदेशी मुद्रा सञ्चिति बढाउन यसले सहयोग गर्नेछ । पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ ।
यस्तै वस्तु निर्यात गर्ने उद्योगी र पर्यटन व्यवसायीलाई फाइदा हुन्छ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाएमा उद्योगीले बढी नाफा कमाउने अवसर पाउनेछन।
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ। डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ ।
यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि भएको छ । डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा अतिरिक्त भार पर्छ भने नेपालले तिर्नुपर्ने दायित्व बढी हुनेछ ।
यसैगरी विदेशी कम्पनीहरूले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई डलरको भाउ बढेपछि असर पर्नेछ ।
भारतमा डलर सचिती घट्दो
नेपालमा जस्तै भारतमा विदेशी मुद्रा सञ्चितिमा भारी गिरावट आएको छ । एक वर्षका बीचमा विदेशी मुद्रा सञ्चिति १ खर्ब १८ अर्ब डलर घटेको छ । हाल भारतको विदेशी मुद्रा सञ्चिति हाल ५ खर्ब ३२ अर्ब ८६ करोड डलर रहेको आरबीआई जनाएको छ ।
भारतको सञ्चिति अक्टोबर २०२१ मा ६ खर्ब ४५ अर्ब डलर पुगेको थियो । तर, विश्वव्यापी आर्थिक संकटको बीचमा भारुको निरन्तर अवमूल्यनका कारण डलर सञ्चिती घट्दै गएको छ ।
यद्यपि विदेशी मुद्राको स्तरलाई कायम राख्न खर्च कम गर्दै रुपैयाँ बचाउने बीचमा कडा कदम चाल्दै गर्दा देशको विदेशी मुद्रा सञ्चिति एक सातामा २० करोड ४० लाख डलर बढेको छ ।
विदेशी मुद्रा सञ्चिति केही समयदेखि घट्दै गएको थियो र अघिल्लो प्रतिवेदन हप्तामा सञ्चिति ४.८५४ अर्ब डलरले घटेर ५ खर्ब ३२ अर्ब ६६ करोड डलर पुगेको थियो । हालैको वृद्धिले देशसँग विदेशी मुद्राको मात्रा ५ खर्ब ३२ अर्ब ८६ करोड डलर पुगेको छ ।