काठमाडौं। श्रम स्वीकृतिसहित विभिन्न कामका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता हट्ने छाँट नदेखिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘विज एयर’ ले पनि उडान नगर्ने मनस्थिति बनाएको छ।
युरोपेली मुलुक हंगेरीको वायुसेवा कम्पनी भए पनि विज एयरले युनाइटेड अरब इमिरट्स (युएई) को अबुधाबीबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिधा उडान गर्ने अनुमति पाएको छ।
विजले कात्तिक १३ (अक्टोबर ३०) बाट अबुधाबी–भैरहवा रुटमा नियमित उडान सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको थियो। तर, पछिल्लोपटक श्रम डेस्क स्थापनलगायत समस्याहरु समधान नभएको भन्दै तत्काल उडान नगर्ने मनस्थिति बनाएको सम्बद्ध स्रोत जानकारी दिएको छ।
‘लामो समयदेखि गौतमबुद्ध विमानस्थलमा श्रम डेस्क स्थापना नहुनु, अन्य समस्या समाधान नहुनु र सरकारी संयन्त्रबाट समेत कुनै समन्वय नभएकाले विज एयर तत्काल उडान नगर्ने अवस्थामा पुगेको छ, स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘जसका कारण अहिलेसम्म उडान तालिकासमेत सार्वजनिक गरिएको छैन।’
विज एयरको नेपालस्थि ‘जनरल सेल्स एजेन्ट’ (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस प्रालि हो। सोसाइटीले हाल गौतमबुद्धबाटै जजिरा एयरवेजमार्फत कुवेत उडान गर्दै आएको छ।
हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको विज एयरले भैरहवाका लागि सातामा तीन दिन उडान गर्ने अनुमति पाएको छ।
श्रमका समस्या समाधान नभएको भन्दै तिहारपछिबाट उडान नै नगर्ने निष्कर्षमा पुगेको जजिरा एयरवेजको जिएसए सोसाइटी विजको पनि जिएसए भएका कारण समस्या नसल्टिएसम्म विजको उडान नगर्ने अवस्थामा पुगेको हुनसक्ने प्राधिकरणका एक अधिकारीले दाबी गरे।
तै पनि आधिकारीकरूपमा उडान गर्ने वा नगर्ने जानकारी भने सोसाइटीले अझै दिएको छैन। तर, जजिराले भने दैनिक एक उडान कटौती गरी अहिले सातामा तीनमात्र उडान गर्न थालेको छ। उडान कटौतीको कारणमा उसले यात्रु अभाव देखाएको छ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले गौतमबुद्ध विमानस्थलमा वायुसेवा कम्पनीका समस्या समधानमा आफूहरूले मात्र गरेर केही नहुने बताए।
‘हामीले चाहिने पूर्वाधार निर्माण गरेका छौं,’ महानिर्देशक अधिकारीले भने, ‘श्रम मन्त्रालयमार्फत श्रम डेस्क स्थापनालगायत काम नहुँदा अहिले समस्या भएको हो।’
श्रमको समस्या समधानका लागि सम्बद्ध मन्त्रालयका अधिकारीहरूसँग पटक–पटक छलफल गर्दा पनि बेवास्ता गरेको प्राधिकरणको दाबी छ।
‘अबको सबै समस्या श्रम मन्त्रालयसँग ठोक्किएका छन्,’ महानिर्देशक अधिकारीले भने, ‘अन्तरमन्त्रालय समन्वय गरेर समधान गर्न ताकेता गरिरहेको छु।’
विमानस्थल सञ्चालनका लागि प्राधिकरणले आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गरे पनि सरकारले त्यसमा चाहिने आवश्यक जनशक्ति उपलब्ध नगराउँदा गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने यात्रुले समस्या भोग्दै आएका छन्।
कामको खोजीमा म्यानपावर कम्पनी धाउने, मेडिकल जाँच गर्ने, श्रम स्वीकृति लिने, हवाई टिकट काट्नेलगायत काम काठमाडौंमै आएर गर्नुपर्ने तर जहाज चढ्न भैरहवा जानुपर्ने बाध्यतामा यात्रु छन्।
सुरुवातमा जजिराले नै काठमाडौंमा रहेका यात्रुलाई आफ्नै खर्चमा भैरहवासम्म लैजाने गरेको थियो। तर, सम्बन्धित मन्त्रालयले समस्या समधानमा कुनै पहल नगरेको भन्दै जजिरा गौतमबुद्धबाट ‘ब्याक’ हुने तयारीमा छ।
यसबारे श्रम मन्त्रालयका प्रवक्ता एवं सहसचिव डण्डुराज घिमिरेले गौतमबुद्धमा श्रमको कुनै पनि समस्या नभएको दाबी गरे।
श्रम स्वीकृतिका लागि आवश्यक सम्पूर्ण काम भैरहवाबाटै हुने गरी यसअघि नै काम भइसकेको उनले बताए। श्रम मन्त्रालयबाट कुनै समस्या नभएको उनको भनाइ छ।
‘श्रम मन्त्रालयले दिनुपर्ने सम्पूर्ण सेवा उपलब्ध गराएका छौं,’ प्रवक्ता घिमिरेले भने, ‘एकले अर्कालाई दोष थोपरेर पन्छिन हुँदैन। केही समस्या भए तत्कालै समधान गर्न तयार छौं।’