काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्स वितरण नरोकिने जनाएको छ । निर्वाचान आयोगले सोधेको स्पष्टीकरणको जवाफमा बोर्डले नयाँ स्टक एक्सचेञ्ज, सेयर ब्रोकर, कमोडिटी एक्सचेञ्ज, ब्रोकर शाखा, विशिष्टीकृत लगानी कोष व्यवस्थापक, क्रेडिट रेटिङ कम्पनीलाई लाइसेन्स दिन नरोक्ने जनाएको हो ।
निर्वाचन आचारसंहिता लागेको समयमा बोर्डले लाइसेन्स दिन थालेपछि निर्वाचन आयोगले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको थियो ।सोही स्पष्टीकरणको जवाफ दिदै बोर्डले नयाँ लाइसेन्स वितरण नरोक्ने जनाएको छ ।
त्यसैगरी बोर्डले निर्वाचान आयोगलाई आफूले निर्वाचन आचार संहिता उल्लंघन नगरेको जवाफ पठाएको छ । बोर्डले आयोगकाे आचारसंहिता लागूभन्दा पहिला नै सूचना प्रकाशित गरेकाले आचारसंहिता उल्लंघन नगरेको बोर्डको जनाएको छ ।
बोर्डले सबै काम आफ्नो नीति तथा कार्यक्रममा समावेश भएको र सोहीअनुसार गरेकाले आचारसंहिता उल्लंघन दाबी गरेकाे छ।
आयोगमा बोर्डले विभिन्न कम्पनीलाई निर्वाचनको समयमा लाइसेन्स दिन लागेको भन्दै उजुरी परेको थियो । उक्त उजुरीका आधारमा आयोगले गत शुक्रबार सेबोनसँग स्पष्टीकरण माग गरेको थियो ।
निर्वाचन आचारसंहिता २०७९ को दफा ५ मा बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था छ ।
आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । नेपाल धितोपत्र बोर्डले गत असोज २ गते स्टक ब्रोकरका लागि ३० दिन र नयाँ स्टक एक्सचेञ्ज तथा कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण गर्न ४५ दिनको सूचना प्रकाशित गरेको थियो ।
नयाँ ब्रोकरका लागि ४५ वटा कम्पनीले आवेदन दिएका छन् भने स्टक र कमोडिटी बजारका लागि आवेदन दिने समय कात्तिक १५ गतेसम्म रहेको छ ।
यी विषयमा आयोगले अर्थ मन्त्रालयलाई पनि स्पष्टिकरण सोधेको थियो । मन्त्रालयले लाईसेन्स दिने काम आफ्नो नभएको र नियामक निकायले दिने भन्दै जवाफ पनि नियामकले दिने भन्दै पन्छेको थियो ।
हाल नयाँ ब्रोकर लाइसेन्सको लागि बोर्डमा ४६ कम्पनीले आवेदन दिएका छन् । बोर्डले मापदण्ड पूरा गर्ने सबै कम्पनीलाई नयाँ लाइसेन्स वितरण गर्ने जनाएको छ ।