काठमाडौं। सरकारले गत वैशाखमा विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै विभिन्न विलासी वस्तुहरूको आयातमा रोक लागाउने निर्णय गरेको थियो। वैशाखमा १० प्रकारका वस्तुहरूको आयातमा असारमसान्तसम्म लागू हुने गरी लागेको प्रतिबन्धलाई कडाइ गर्दै सरकारले बढाएर असार ३१ पुर्यायो।
१४ भदौमा सरकारले कुरकुरे, हिरालगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल गरी चार प्रकारका वस्तुको आयात प्रतिबन्धलाई यथावत राख्यो। हाल सो निर्णयलाई सरकारले मंसिर २९ गतेसम्म लागू गर्ने निर्णय गरेको छ। अर्थात् नेपालमा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात मंसिर २९ गतेसम्म गर्न पाइदैन।
सरकारले मंसिर २९ गतेसम्म लागू हुने गरी आयातमा लगाएको प्रतिबन्धित वस्तुमा ३ सय अमेरिकी डलरमाथिका मोबाइल पनि छन्। सरकारको निणर्यअनुसार गत वैशाखदेखि ३ सय अमेरिकी डलरमाथिको मोबाइलको आयातमा लागेको प्रतिबन्ध आगामी मंसिर २९ गतेसम्म लागू हुनेछ।
गत वैशाखदेखि आयातमा रोक लागेका ३ सय अमेरिकी डलरमाथिका मोबाइल बजारमा छ्यापछ्याप्ती पाइन्छन्। ६ महिनादेखि आयातमा बन्देज गरिएका मोबाइल बजारमा पर्याप्त मात्रमा पाउनुले मोबाइल कहाँबाट आउँछन् भन्ने प्रश्न उठेको छ।
रोक लगाएका मोबाइल बजारमा उल्लेख्य मात्रामा पाइने भएकाले मोबाइलको आयात गलत ढंगबाट भइरहेको छ कि भन्ने शंका पैदा गरेको छ।
बजारमा पाइने ३ सय अमेरिकी डलरमाथिका मोबाइल स्टकका मात्रै हुन्?
नेपालका लागि सामसङ मोबाइल कम्पनीको आधिकारीक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आईएमएस) का अध्यक्ष दिपक मल्होत्रा महँगाे मोबाइलको आयातमा प्रतिबन्ध लागेको ६ महिना भइसकेकाले बजारमा पाइने सबै महँगाे मोबाइल स्टकका मात्र हुन् भन्ने सत्य नभएको बताउँछन्।
महँगाे मोबाइल नेपाली बजारमा निकै कम मात्रामा बिक्री हुने गरेको बताउँदै उनले लामो समय प्रतिबन्ध हुँदा पनि बजारमा कुनै किसिमको अभाव नदेखिनेगरी नेपालमा मोबाइल स्टकमा रहन सम्भव नभएको स्पष्ट पारे।
‘हामीसँग पनि हाम्रो ब्रान्डकाे मोबाइल एकदम सिमित अर्थात् केही संख्यामा मात्र बाँकी छ,’ मल्होत्राले क्यापिटल नेपालसँग भने ‘नेपालमा छ्यापछ्याप्ती पाइने महँगाे मोबाइल गैरकानूनी रूपमा भित्र्याइएका मोबाइल हुन्। यस्ता मोबाइल भित्र्याउन र दर्ता गरेर चलाउन एक गिरोह नै सक्रिय छ।’ प्रतिबन्धित माेबाइल बजारमा अभाव नदेखिनुले पनि चोरी निकासीबाट आएको पुष्टि हुने उनको तर्क छ।
एमडीएमएस प्रणालीको आफूहरू विरोधी नभएपनि विदेशबाट आएको व्यक्तिले आफूले चलाएको बाहेक एउटा मोबाइल ल्याउन पाउने सुविधाले पनि नेपाली बजारमा मोबाइलको स्वच्छ व्यापार नभएको मल्होत्राकाे भनाइ छ।
विदेशबाट आएको व्यक्तिले आफूले चलाएको बाहेक अर्को मोबाइल ल्याउन पाउने सुविधाको गलत प्रयोग भएको उनले जानकारी दिए। महँगाे मोबाइल आयातमा लागेको प्रतिबन्धले मोबाइलको गैरकानूनीरूपमा आयात निर्यात गर्ने गिरोहलाई सहयोग पुगेको उनको भनाइ छ।
महँगाे मोबाइलको आयातमा पूर्ण रोक लगाएको भए पनि बजारमा पर्याप्त मात्रामा उपलब्ध भएको विषयमा सरकारले हालसम्म कुनै अनुगमन समेत गरेको छैन। जसका कारण पनि यी मोबाइलको आयातको वैधानिकतामाथि प्रश्न उठेको छ। यस विषयमा उद्योग, वार्णिज्य तथा आपूर्ति मन्त्रालयसमेत बेखबर छ।