काठमाडौं। प्रस्तावित पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति (लाइसेन्स) का लागि भारतको एनएचपीसीले १ अर्ब १६ करोड रुपैयाँ धरौटी (पर्फमेन्स बन्ड) बुझाउनुपर्ने भएको छ।
एनएचपीसीले ७५० मेगावाटको पश्चिम सेती आयोजनाको सर्वेक्षण लाइसेन्स लिन ८४ करोड रुपैयाँ पर्फमेन्स बन्डसहित आवेदन दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बताए।
त्यस्तै, विकासकर्ता एनएचपीसीले परियोजनाका सम्बन्धमा यसअघि तयार भएका अध्ययन दस्तावेजका लागि अतिरिक्त १ करोड ३९ लाख रुपैयाँ बुझाएको छ। सेती नदी–६ को यसअघि विद्युत विकास विभागले गरेको अध्ययन प्रतिवेदनका लागि ३० करोड ९० लाख रुपैयाँ निर्धारित समयभित्र बुझाउने भएको छ। समझदारीका प्रावधानअनुसार अनुमतिपत्र जारी गर्ने प्रक्रियामा रहेको सीईओ भट्टले जानकारी दिए।
सेती नदी–६ को हकमा भने समझदारी भएको मितिले ६ महिनाभित्र सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन प्राप्त हुनेछ। सर्वेक्षण अनुमति प्राप्त भएपश्चात एनएचपीसीले दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) वातावरणीय अध्ययन प्रतिवेदन बोर्डसमक्ष पेस गर्ने भएको छ। उक्त मूल्याँकनपश्चात परियोजना विकासका लागि सम्झौता प्रक्रिया अघि बढ्ने उनले सुनाए।
दुई आयोजनाको जडित क्षमता १२०० मेगावाट छ। आयोजना बनाउन १ खर्ब ८० अर्ब भारु (२ खर्ब ८८ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको छ। डीपीआर तयारपछि मात्र आयोजनाको वास्तविक लागत यकिन हुनेछ।
भारत सरकार स्वामित्वको एनएचपीसी प्राविधिक र वित्तीय दुवै हिसाबले सक्षम कम्पनी देखिएको छ। उसले भारतमा ७ हजार मेगावाट भन्दा धेरै क्षमताका जलविद्युत परियोजना कार्यान्वयन गरिसकेको छ।
एनएचपीसीले समझदारी भएलगत्तै भारतको पीटीसी इन्डिया लिमिटेडसँग प्रारम्भिक विद्युत बिक्री सम्झौता भइसकेको पनि जानकारी गराएको छ ।
पश्चिम सेतीको सर्वेक्षण अनुमतिपत्र जारी गर्ने अन्तिम चरणमा रहेको जानकारी बोर्डले दिएको छ। सेती नदी–६ को सन्दर्भमा समझदारीको ६ महिनाभित्र सोही प्रक्रियाबाट अघि बढ्नेछ।
एनएचपीसीलाई सर्वेक्षण अनुमतिपत्र जारी भएको तीन महिनाभित्र प्रारम्भिक प्रतिवेदन लगानी बोर्डसमक्ष पेस गर्नुपर्नेछ र सो पश्चात् २१ महिनाभित्र डीपीआर र वातावरणीय अध्ययनसमेत पेस भई स्वीकृतिपश्चात परियोजना विकास सम्झौता (पीडीए) को चरणमा प्रवेश गर्नेछ ।
यसबीचमा, लगानी बोर्डले परियोजना प्रभाव क्षेत्रका बासिन्दा तथा सरोकारवालाको राय तथा परामर्श लिने र प्राप्त राय/सुझावलाई सम्बोधन गर्नका निमित्त परियोजना विकासका विभिन्न चरणमा समावेश गर्दै लैजाने भएको छ।
पश्चिम सेतीबाट वार्षिक ३ अर्ब ३० करोड युनिट र सेती नदीबाट १ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ। पश्चिम सेतीको विद्युतगृहबाट ५० किलोमिटर तल्लो तटीय क्षेत्रमा सेती नदी आयोजना निर्माण हुनेछ।
सेती नदी बझाङमा पर्ने साइपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डडेलधुरा र डोटी हुँदै अछाम पुगेपछि कर्णालीमा मिसिन्छ।