काठमाडौं । नयाँ ब्रोकर अनुमतिपत्र (लाइसेन्स) का लागि नेपाल धितोपत्र बोर्डमा ४६ कम्पनीको आवेदन परेको छ। बोर्डमा एक स्टक डिलरसहित ४ पूर्णकार्य गर्ने र ४१ सीमित कार्य गर्ने कम्पनीको आवेदन परेको हो ।
स्टक डिलरको पुँजी १ अर्ब ५० करोड रुपैयाँ र पूर्णकार्य गर्ने ब्रोकरको ६० करोड र सीमित कार्य गर्ने ब्रोकरको २० करोड रुपैयाँ चुक्ता पुँजी चाहिन्छ ।
आवेदन दिने अन्तिम दिनसम्म ४६ कम्पनीले आवेदन दिएका बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । ‘बोर्डमा ४६ कम्पनीको आवेदन परेको छ। जसमा एउटा स्टक डिलर, चारवटा फुल ब्रोकर र ४१ वटा सीमित कार्य गर्ने छन्।’
बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार नबिल सेक्युरिटिजले स्टक डिलरका लागि आवेदन दिएको छ । यस्तै पूर्ण कार्य गर्ने ब्रोकरका लागि मेगा स्टक मार्केट्स लिमिटेड, हिमालयन सेक्युरिटिज लिमिटेड, सनी सेक्युरिटिज लिमिटेड र सेन्चुरी सेक्युरिटिज लिमिटेडले आवेदन दिएको बोर्डले जनाएको छ।
बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि गत असोज २ गते एक सूचना जारी गर्दै ३० दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको थियो। बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावलीलाई पाँचौ पटक संशोधन गरी थप नयाँ ब्रोकर कम्पनीहरुका लागि दर्खास्त आह्वान गरेको हो।
संशोधित नियमावली अनुसार बोर्डले ब्रोकर कम्पनीहरुलाई तीन तहमा विभाजन गरेको छ। सोहीअनुसार चुक्ता पुँजी पनि फरक छ।
नयाँ ब्रोकर लाइसेन्सका लागि बोर्डमा आवेदन दिनु पूर्व नेप्सेबाट सिफारिस लिनुपर्ने छ। नेप्सेले सोमबार नै नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ वटा कम्पनी सिफारिस गरेको छ। तर बोर्डमा भने ४६ वटा कम्पनीको आवेदन परेको छ।
हाल ब्रोकरको रुपमा कार्य गरिरहेको सनी सेक्युरिटिज सेवा थपका लागि फुल ब्रोकरका लागि आवेदन दिएको हो। जसकारण बोर्डमा आवेदन दिने कम्पनीको संख्या ४६ पुगेको केसीले बताए ।