काठमाडौं। प्रस्तावित चार अंकको माथिल्लो अरुण अर्धजलाशय आयोजनामा सात बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब रुपैयाँबराबर लगानी गर्ने भएका छन्।
१ हजार ६१ मेगावाट क्षमतायुक्त उक्त आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को अगुवाइ (लिड) मा ५३ अर्ब रुपैयाँ लगानी जुट्ने भएको हो।
एचआइडिसिएल लिडमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनएमबी बैंक, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने भएका हुन्।
राष्ट्रिय वाणिज्य, नेपाल बैंक र नागरिक लगानीले ऋण लगानी सम्झौता गरिसकेका छन्। सञ्चय कोष सञ्चालक समितिबाट लगानी स्वीकृत हुन बाँकी छ भने एनएमबीले पनि लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ।
कृषि विकाससँग ऋण लगानीबारे छलफल चलिरहेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतम बताउँछन्।
‘आधा दर्जन बैंक तथा वित्तीय संस्थामार्फत ५३ अर्ब रुपैयाँ जुट्ने छ,’ उनले भने, ‘अपुग भए थप बैंकलाई सहवित्तीयकरणमा सहभागी गराउने छौं।’
आयोजना बनाउन २ खर्ब १४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। जसमध्ये एचआइडिसिएलले ५३ अर्ब रुपैयाँ जुटाउने जिम्मेवारी पाएको छ। यस्तै ६४ अर्ब स्वपुँजी (इक्विटी), ९७ अर्ब रुपैयाँ विश्व बैंक र युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी) ले लगानी गर्नेछन्।
आयोजनामा ऋण लगानीबारे गत भदौ ३० मा नै एचआइडिसिएल, नेपाल विद्युत प्राधिकरण र विकासकर्ता अपर अरुण हाइड्रोइलेक्ट्रिसिटी कम्पनी लिमिटेडबीच एमओयु भएको थियो।
आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर र बाँकी ऋणबाट जुटाइने छ। विद्युत बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घन्टा पूर्णक्षमतामा चलाउन सकिने छ। लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ।
आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट बिजुली उत्पादन हुनेछ। प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा आयोजना अगाडि बढाएको छ।
आयोजनाका लागि आवश्यक पर्ने निजी जग्गा यस वर्षबाट अधिग्रहण र करिब २४ किलोमिटर पहुँच सडक निर्माण सुरु गर्ने लक्ष्य छ।
यो वर्ष सबै अध्ययन सक्ने र सन् २०२३ भित्र ठेकेदारलाई निर्माणका लागि आयोजनास्थलमा परिचालन गरिसक्ने योजनासाथ काम भइरहेको छ।
आयोजना निर्माण २०३० भित्र सक्ने लक्ष्य राखिएको छ। विश्व बैंकको १ करोड ३१ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋणमा आयोजनाको विस्तृत अध्ययन भइरहेको छ।
आयोजनाको सुपरीवेक्षणलगायत कामका लागि परामर्शदाता छनौट गर्न बोलपत्र आह्वान भएको छ। अरुण तेस्रो जलविद्युत आयोजनाबाट हात झिकेर फर्केको विश्व बैंक झन्डै तीन दशकपछि उक्त नदी करिडोरमा लगानी गर्न फर्किएको हो। बैंकले हात झिकेको अरुण तेस्रो अहिले भारतीय कम्पनीले बनाइरहेको छ।
चालू आर्थिक वर्ष बजेटमा सरकारले उक्त आयोजना निर्माण सुरु गर्ने उल्लेख छ। आयोजनामा लगानी गर्न विश्व बैंक तयार छ। आयोजना अगाडि बढाउन विद्युत प्राधिकरणले सहायक कम्पनीका रूपमा अपर अरुण हाइड्रोइलेक्ट्रिसिटी कम्पनी लिमिटेड स्थापना गरी काम अगाडि बढाएको छ।
२०२४ अन्त्यतिर सुरु भई २०३० भित्र पूरा गर्ने लक्ष्य रहेको आयोजनाको हाल सम्भाव्यता अध्ययन सकिएर टेन्डर डिजाइन तथा निर्माण सुपरीवेक्षण कार्यका लागि परामर्शदाता छनौट गर्ने काम भइरहेको छ।