काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङको साताैं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रम सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी देवेन्द्ररमण खनालको अध्यक्षता तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भएको हो । साधारण सभाले आ.व. २०७८/७९ मा ७.५ प्रतिशत नगद लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको मर्चेन्ट बैकिङ सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप रणनीति तयार गरी आफ्नो कार्य क्षेत्र विस्तार गर्दै लैजाने बताए । दूरदराजमा रहेका जनताहरूले पनि मर्चेन्ट बैकिङ सेवा लिन सकिने वातावरण बनाउनुपर्ने उनकाे भनाइ छ।
मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्ता पुँजी रहेको मर्चेन्ट बैंकिङले इसु म्यानेजमेन्ट, आरटिएस, पोर्टफोलियो म्यानेजमेन्ट, अन्डरराइटिङ, डिपोजेटरी पार्टिसिपेन्टलगायतको सेवा दिइ रहेको बताए।
कार्यक्रममा आरविवि मर्चेन्ट बैंकिङका सञ्चालकहरू सरस्वती अधिकारी, पवन रेग्मी, दुर्गा कुमारी कंडेल, राजेन्द्रप्रसाद दाहाल, बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, विनयरमण पौडेल, बैंकका कम्पनी सचिव हेमराज खरेल, कम्पनी रजिष्ट्रार कार्यालयकी उपरजिष्ट्रार शेखरबाबु कार्की, महालेखा परीक्षक कार्यालयका कमल सिलवाल, आन्तरीक लेखापरीक्षक सिए एकराज सिग्देल, आरविवि म्युचल फण्डका लेखापरीक्षक सिए मुनाप्रसाद लगायत मर्चेन्ट बैंकिङका कर्मचारीहरूको उपस्थिति थियो।