काठमाडौं। युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ।
लक्ष्मी ग्रुपअन्तर्गतको इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले आइतबार नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो । अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना होम अप्लायन्सेसको रहेको छ ।
कम्पनीले काठमाडौंस्थित कमलादीमा रहेको आइटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापना गरेको छ जहाँको स्टोरमा बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ । जुन सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन्।
नेपाली बजारमा बोश भित्र्याएपछि बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित भएको प्रतिक्रीया दिए । सार्क राष्ट्रमा आफूहरुको बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम भएको उनको भनाइ छ ।
प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलका अनुसार नेपालमा घरेलु उपकरणहरूको बजार द्रुत रूपमा बढिरहेको छ । यसबाहेक बजार बढ्दो गतिमा छ । यस्तोमा जर्मन विरासतमा आधारित बोश ब्रान्डका उपकरणहरूले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन् । यसका हरेक उपकरणहरू उपभोक्ता–केन्द्रित हुनाले विश्व बजारले समेत बोश ब्रान्ड निकै रुचाएको उनी बताउँछन् ।
यसबाहेक बोश ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठले नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउन बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी रहेको बताए। उनले बोश ब्रान्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको धारणा व्यक्त गरे।
नेपाली बजारमा बोश ब्रान्डका रेफ्रिजिरेटर/फ्रिज, वासिङ मेसिन र ड्रायर्स, डिसवासर लगायतका उपहरणहरू उपलब्ध छन्।बिएसएच हाउसजिरेट जिएमबिएचले सन् २०२१ मा मात्रै युरो १५.६ बिलियनको कारोबार गरेको थियो। तथ्यांकअनुसार सो वर्ष कम्पनीमा कुल ६२ हजार कर्मचारीहरू कार्यरत थिए। कम्पनीको पोर्टफोलियोमा बोश, सिमेन्स, नेफ, ग्यागेनौ लगायत गरी ११ वटा ब्रान्डहरू छन्। बिएसएचले आफ्नो ४० वटा विभिन्न स्थानमा रहेको कारखानाबाट सामग्री उत्पादन गर्दैछ। कम्पनीको उत्पादन ५० भन्दा बढी राष्ट्रमा बिक्री हुँदैछ। बिएसएच बोश ग्रुपअन्तर्गतको कम्पनी हो ।