भैरहवा । सिमेन्टमा निर्यात अनुदान कार्यविधि सार्वजनिक भएसँगै अर्घाखाँची सिमेन्ट उद्योगले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेको छ। उद्योगले सोमबार कार्यक्रम गरी औपचारिकरूपमा निर्यात सुरु गरेको हो।
उद्योगले पहिलो लटमा १ सय टन ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो। यसअघि पाल्पा सिमेन्टले भारत निकासी सुरु गरेको थियो। सरकाले चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट निर्यातमा अनुदान दिने घोषणा गरेको थियो।
सोहीअनुसार सबै प्रक्रिया पूरा गरी निर्यात सुरु गरेको हो। सिमेन्ट निर्यातमा उद्योगीले अधिकतम आठ प्रतिशतसम्म नगद अनुदान पाउनेछन्। यसबट राज्यले विदेशी मुद्रा आर्जन गर्ने छ।
अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालका अनुसार शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन लिएको हो। उद्योगको क्षमता दैनिक ८० हजार बोराबराबर छ।
‘सरकारले उत्साह प्रदान गरेको छ। आठ प्रतिशत अनुदानले निर्यात सम्भव भएको हो। यसले भारतसँगको व्यापार घाटा कम गर्न सहयोग पुग्ने छ,’ अग्रवालले भने, ‘हाम्रो उत्पादन लागत भने बढी छ। तर, भारतको तुलनामा तलबभत्ता बढी दिएका छौं।’
त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताए। ‘अब मेरो आसा उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो,’ उनले भने, ‘सरकारी नीतिकै कारण भारत निकासी सहज भएको हो।
नाफाभन्दा पनि क्षमता उपभोग पहिलो सर्त हो।’ मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत क्षेत्रमा चुनढुंगा खानी छैन। त्यही बजार ‘क्यास’ गर्न भारत निर्यात थालिएको हो।
सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उनको आग्रह छ। त्यसैगरी निरन्तर बिजुली उपलब्ध हुनुपर्ने, भारतमा नेपाली सिमेन्टको ब्रान्डिडका लागि पनि सहजीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन्।