काठमाडौं। सिन्धुपाल्चोक सुकुटेमा चारतारे स्तरको ‘ह्वाइट लिफ रिसोर्ट’ निर्माण भएको छ। लामो समयदेखि पर्यटन, बैंक, जलविद्युतसहित विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएका दोलखाका युवा व्यवसायी प्रभु श्रेष्ठले ६० करोड रुपैयाँ लगानीमा रिसोर्ट निर्माण गरेका हुन्।
दुई चरणमा निर्माण सक्ने गरी काम अघि बढेको उक्त रिसोर्टको पहिलो चरण सकिएको छ। अहिले २१ कोठासहितको भवन तयार भएर सञ्चालनमा आइसकेको छ।
विशेषगरी आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको सुकुटे /र्याफ्टिङका लागि परिचित छ। त्यही भएर पछिल्लो समय त्यहाँ सुविधासम्पन्न होटल तथा रिसोर्ट निर्माण हुने क्रम तीव्र छ। प्रकृतिसँग रमाउँदै बिदा मनाउन चाहनेलाई उत्तम गन्तव्यका रूपमा विस्तार गर्न रिसोर्टमा लगानी गरेको सञ्चालक श्रेष्ठले बताए।
ह्वाइट लिफ रिसोर्ट प्रालिद्वारा निर्माण भएको उक्त रिसोर्टमा ६० कोठा हुनेछ भने चार सुविधासम्पन्न रेस्टुरेन्ट सञ्चालनमा आउने छ। ‘पहिलो चरणमा २० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको र दोस्रो चरणको काम सकिँदा ६० करोडभन्दा बढी लगानी हुने अनुमान छ,’ श्रेष्ठले क्यापिटल नेपालसँग भने।
पछिल्लो समय निर्माण सामाग्रीको मूल्य बढेका कारण निर्धारित लागतमा केही तलमाथि हुनसक्ने उनको भनाइ छ।
अरनिको राजमार्ग नजिकै निर्माण भएको रिसोर्ट १७ रोपनी क्षेत्रफलमा फैलिएको छ। रिसोर्टबाट सहजै भोटेकोशी नदी नियाल्न सकिन्छ। रिसोर्टमा दुईवटा भवन हुनेछ। तिनको बीचमा स्विमिङ पुल र सँगै ‘बार’ रहने छ।
रिसोर्ट पूरै तयार भएपछि त्यहाँ चार रेस्टुरेन्ट रहन्छ। अहिले एउटा रेस्टुरेन्ट पूर्णरूपमा तयार भइसकेको छ। रुफटपमा रेस्टुरेन्ट हुनेछ। हाल लन्च, डिनर, ब्रेकफास्ट र रुमसहित एक रात दुई दिनको प्याकेज प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइएको छ। र्याफ्टिङ गर्न प्याकेज शुल्कबाहेक प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ।
श्रेष्ठकै ‘सिंगल ट्री’
अहिले सामाजिक सञ्जालमा चर्चामा रहँदै आएको स्वयम्भू डाँडामा रहेको ‘सिंगल ट्री’ मा पनि श्रेष्ठको लगानी छ। उनीसहित साथीहरूको संयुक्त लगानीमा निर्माण भई सञ्चालनमा आएको उक्त होटल लकडाउनपछि काठमाडौं बस्नेलाई ‘रिफ्रेस’ हुने गन्तव्य विस्तार गर्न बनाइएको थियो। ‘सिंगल ट्रीले सबैको मन जितिरहेको छ,’ सञ्चालक श्रेष्ठले भने।
साढे चार रोपनी क्षेत्रफलमा निर्माण भएको सिंगल ट्रीमा २० करोड रुपैयाँभन्दा बढी लगानी भएको उनले बताए। जग्गा खरिद महँगो भएकाले लगानी बढेको उनको भनाइ छ। अहिले ‘स्विङ’ मात्र रहेको र बिस्तारै अन्य खेल पनि राख्ने तयारी भएको उनले बताए।