काठमाडौं । मलेसिया सरकारले चीनलाई ओभरसिज भिसा सिस्टम ह्यान्डल (भीएलएन) सञ्चालन गर्न अनुमति दिएको छ । नयाँ सरकार बनेसँगै मलेसिया सरकारले भीएलएन सञ्चालनसम्बन्धी अनुसन्धान गरेको थियो ।
भिसा जारी गर्ने कार्य एकाएक बन्द गर्न नसकिने हुँदा यस्तो निर्णय गरिएको गृहमन्त्री तान श्री मुहिद्दीन यासिनले बताएका छन् । भीएलएन सञ्चालनसम्बन्धी अनुमति दिइएको कम्पनीमाथि अहिले प्रशासनले अनुसन्धान गरिरहेको छ ।
अहिले नै कम्पनीबारे निर्णय गर्न नसक्ने र हालसम्म मन्त्रालयका लागि काम गरिरहेको उक्त कम्पनीलाई विस्थापन गर्न सक्ने कुनै अर्को कम्पनी नभएका कारण तत्कालका लागि सञ्चालन अनुमति दिइएको उल्लेख छ । मलेसियामा आउने पर्यटकमा चीनको सङ्ख्या उच्च रहेको र चीनमा रहेका आप्रवासी अधिकारीहरु सीमित भएका कारण भिसा जारीको कार्य रोक्न नसकिने गृहमन्त्री यासिनले पत्रकारसँग भनेका थिए ।
समाचार रिपोर्टहरुका अनुसार अघिल्लो सरकारको गृहमन्त्रालयले उक्त कम्पनीलाई २०१६ मा नियुक्त गरेको थियो । भीएलएन जारीलगायत इलेक्ट्रोनिक ट्राभल रजिस्ट्रेसन एन्ड इन्फर्मेसन र ईभिजा सिस्टम इन्ट्राईलाई व्यवस्थित गर्न गृहमन्त्रालयले उक्त कम्पनीलाई नियुक्त गरेको थियो । उक्त कम्पनीको सहयोगमा चिनियाँ पर्यटकले मलेसियामा इन्ट्री तथा ईभिजाका लागि आवेदन दिने गरेका छन् ।
तर, इन्ट्राई प्रणालीलाई सरकारले जनवरी १ देखि निलम्बन गरेको हो ।
मलेसियाको एन्टी करप्सन कमिसन एमएसीसीले एउटा वक्तव्यमार्फत आज महान्यायाधिवक्ताको च्याम्बरले पूर्व उपप्रधानमन्त्री दाटुक सेरी डीआर एहमद जाहिद हामिदी विरुद्ध ताजा भ्रष्टाचार मुद्दा चलाउन अनुमति दिएको छ ।
जाहिदलाई ओभरसिज भिसा सिस्टमको अनुसन्धानमा अन्तिम प्रक्रिया समापन गरिसकेपछि एमएसीसीको मुख्यालयमा जुन २४ मा पक्राउ गरिएको थियो ।
अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको रोजगार खुलाउने विषयमा भीएलएनसम्बन्धी अनुसन्धान भइरहेकाले तत्काल निर्णयमा जान नसकेको बताउँदै आएका छन् ।