काठमाडौं। होटल एसोसिएन अफ नेपाल(हान)ले बैंकको साँवा ब्याज भुक्तानीका लागि समय सिमा बढाउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ। अहिलेको अवस्थामा होटलले बैंकको ब्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेकाले त्यसका लागि समयसीमा नबढाए व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको जनाएको छ।
पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीहरूले सार्वजनिक रूपमा नै असोज मसान्तसम्ममा बैंकको साँवा ब्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेको र यसै किसिमको अवस्था देशका अन्य भागमा रहेको होटल व्यवसायीहरूले पनि भोग्नुपरेको हुँदा राज्यबाट अबिलम्ब सम्बोधन नहुने हो भने होटल उद्योगहरू बैंकको साँवा र ब्याज बुझाउन नसकेर क्रमिक रूपमा बन्द गरिनुपर्ने बाध्यता आएको हुँदा बैंकको साँवा ब्याज भुक्तानीको समयसीमा बढाउन माग गरिएको अध्यक्ष सिर्जना राणाले जानकारी दिइन्।
कोभिड–१९ ले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएता पनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रुपमा घाटामा सञ्चालनमा रहेको उनको भनाइ छ। ‘सन् २०१९ मा झन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ५ लाख पुर्याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय संञ्चालन हुन सकेको छैन’,अध्यक्ष राणाले भनिन्।
चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र व्यवसायमैत्री बनाउन लागिपरेको भए तापनि राज्यबाट कुनै सुनुवाइ नभएकाले हामी व्यवसायी स्वयम् सरोकारवाला मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक तथा अन्य निकायमा दिनहुँ पहल गरी विभिन्न सुझावहरू प्रस्तुत गरी निरन्तर पुनरूत्थानको लागि प्रयासरत रहेको अध्यक्ष राणाको भनाइ छ।
‘आजको सबैभन्दा जटिल समस्या भनेकै अहिले हामीलाई बैंकको बढ्दो व्याजदर र समयसीमाभित्र साँवा ब्याज बुझाउने तीव्र ताकेता नै हो,' अध्यक्ष राणाले भनिन्, अहिलेको परिस्थितिमा हामीले लिएको साँवाको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदाहुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा ब्याज बुझाउन सक्षम नरहेको हुँदा साँवा ब्याज बुझाउने समयसीमा बढाइ कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधासमेत उपलब्ध गरिनुपर्छ।‘
कोभिडको समयमा मौद्रिक नीतिबाट अबलम्बन गरिएको केही सेवा सुविधा कोभिड लगायतका प्रकोपहरू जारी रहेकाले हालको समयमा पनि निरन्तारता दिइनुपर्ने र बैंकहरूबाट लागू गरिएको हालको बढ्दो ब्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनुपर्ने उनको माग छ।
कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्र रुपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटनमा नकारात्मक असर पुर्याएको जनाएको छ। यसमाथि पर्यटक बढी आउने यससमयमा आसन्न निर्वाचनले समेत प्रत्यक्ष रुपमा पर्यटन आगमण र गतिविधिलाई घटाउने निश्चित रहेको उल्लेख छ।