काठमाडौं। नेपालमै पहिलो पटक बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिजको डिजाइनको काम एक महिनापछि सुरु हुने भएको छ । हाल पुलको अवधारणा (कन्सेप्ट डिजाइन) भइरहेकाले पूर्ण डिजाइनको काम एक महिनापछि मात्रै सुरु हुने सडक विभागअन्तर्गतको विकास सहायता समन्वय महाशाखाका सिनियर डिभिजन इन्जिजियर (सिडीई) त्रिलोकनाथ घिमिरे बताउँछन्।
उनका अनुसार यसअघि पुलको डिजाइन सुरु भनेर सामाचार बाहिरिए पनि वास्तवमा हालसम्म डिजाइन सुरु भएको छैन। ‘भदौमा पुल निर्माणको विषयमा छलफल हुँदा डिजाइन तयार गर्ने भनिएको थियो, त्यसलाई ‘डिजाइन सुरु भएको’ जसरी समाचार बाहिरियो। तर, कम्तीमा पनि अब एक महिना कन्सेप्ट डिजाइन कै काम हुन्छ त्यसपछि मात्रै डिजाइनको प्रक्रिया अगाडि बढ्छ’ सिडीई घिमिरेले क्यापिटल नेपालसँग भने।
सिग्नेचर पुलको कन्सेप्ट डिजाइन विश्व बैंकको आर्थिक सहयोगमा तयार भइरहेको छ। उक्त कन्सेप्ट डिजनाइनको काम सम्पन्न गर्नका लागि कम्तीमा पनि एक महिना लाग्ने महाशाखाको भनाइ छ। यद्यपि नेपाली इन्जिनियरहरुको भने कन्सेप्ट डिजाइनको मुख्य भूमिका भने छैन।
महाशाखाका अनुसार पुलको लम्बाइ, कस्तो डिजाइनमा कुन ठाउँमा बनाउने भन्ने विषय अहिले निश्चित भएको छैन। सिडीई घिमिरे भन्छन्, ‘अहिले सञ्चालनमा रहेको पुलमै सिक्नेचर ब्रिज बनाउने वा त्यसको नजिकै, कस्तो डिजाइन, लम्बाइकति जस्ता विषयमा अध्ययन भइरहेको छ। सँगै लागतको कुरा पनि अहिले भन्न सकिँदैन।’
नेपालभरि १० वटा सिग्नेचर पुल बनाउने भनिए पनि हाल तिनाउ नदीको पुल मात्रै चर्चामा चलेको छ। तिनाउ नदीको डिजाइन तयार भइ निर्माणको योजना बनेपछि मात्रै अन्य स्थानमा बन्ने सिग्नेचर पुलको विषयमा अध्ययन हुने महाशाखाले जनाएको छ। सिग्नेचर ब्रिज पनि मोटोरेवल पुल नै हो। तर, अन्य मोटोरेवल पुलभन्दा सिग्नेचर पुलको लागत बढी र आकर्षक पनि देखिने बताइएको छ।
सो पुल निर्माण भएमा जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दू मन्दिर र मुस्लिम मस्जिदका बीचमा समेत मैत्रीभाव राख्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ।
सिग्नेचर पुल आधुनिक प्रकार हो। सो पुल अन्य पुलको तुलनामा निकै आकर्षक हुने इन्जिनियरहरु बताउँछन्। जसले गर्दा पर्यटन क्षेत्रका रुपमासमेत तिनाउ नदी वरपरको क्षेत्रलाई विकास गर्न सकिने विश्वास उपमहानगरले लिएको छ।
लागतको हिसाबले निकै महँगो मानिने सिग्नेचर ब्रिजको अवधारणा भारतबाट सुरु भएको मानिन्छ। भारतको यमुना नदीमा रहेको बाजिरवाद र पूर्वी दिल्ली जोड्ने यमुना नदीका पुल भारतका पहिला सिग्नेचर पुल हुन्। त्यसबाहेक इरासमस ब्रिज, रोटर्डाम ब्रिज, लण्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज आदि सिग्नेचर ब्रिजका रूपमा परिचित छन्। चीनले पनि धेरै सिग्नेचर पुल बनाइसकेको छ ।
सिग्नेचर ब्रिज सिमेट्रिकल आकारमा निर्माण गरिन्छ। त्यसले पुलको सम्पूर्ण भार थाम्ने गर्छ। पछिल्लो समय एसिमेट्रिकल आकारमा पनि सिग्नेचर पुल निर्माण गर्ने प्रचलन छ। सिग्नेचर पुलको डिजाइन निकै जटिल हुने गर्छ। इन्जिनियरहरुका अनुसार ब्रिजको बीचमा पिलर बनाएर पूरै भागलाई तारले धान्ने गर्छ।
विदेशतिर बन्ने सिग्नेचर पुलको निर्माणमा उच्च गुणस्तरीय र बाक्लो स्टिल प्रयोग गर्ने गरेको पाइन्छ। आवश्यकता र पुलको डिजाइनअनुसार स्टिल प्रयोग हुन्छ। निर्माणका क्रममा स्टिलसँगै उच्चस्तरको कङ्क्रिट सामग्री प्रयोग गरिन्छ।
सिग्नेचर पुलमा पाइलोन र डेक सबैभन्दा महत्वपूर्ण कम्पोनेन्ट हुन्। सिग्नेचर पुलको सफलतापूर्ण निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण, भूगोल, पुल बन्ने स्थान आदि विषयको अध्ययन तथा अनुसन्धान जरुरी हुन्छ। सिग्नेचर पुल निर्माणमा ठूलो क्रेन आवश्यक पर्छ।
हेर्दा आकर्षक, कलात्मक हुने हुँदा सिग्नेचर पुल अन्य पुलभन्दा फरक खालको हुनेछ। नेपालमा अहिलेसम्म पुरानै शैलीका परम्परागत पुलहरु मात्र बनाइरहेको अवस्थामा बन्ने सिग्नेचर पुलले पर्यटकहरु आकर्षित गर्नेछ।