काठमाडौं। बैंकहरूले औद्योगिक कच्चा पदार्थको एलसी (लेटर अफ क्रेडिट) खोल्नसमेत आनाकानी गर्दा त्यसको सिधा असर उत्पादनमा पर्ने भएको छ।
सरकारले औद्योगिक कच्चा पदार्थ ल्याउन दिने बताए पनि बैंकहरूले स्वविवेक प्रयोग गरेर एलसी रोक्दा दैनिक उपभोग्य वस्तुको कच्चा पदार्थसमेत आउन रोकिएको छ। ‘आयात प्रतिबन्ध लगाएका वस्तुको एलसी बन्द हुनु स्वभाविक हो,’ एक उद्योगीले क्यापिटल नेपालसँग भने, ‘तर, बैंकहरूले दैनिक उपभोग्य वस्तु उत्पादनका लागि चाहिने कच्चा पदार्थ ल्याउनसमेत बैंकले अवरोध पुर्याइरहेका छन्।’
त्यसबाहेक बैंकले निर्यातयोग्य वस्तु उत्पादन गर्ने उद्योगलाई समेत कच्चा पदार्थ ल्याउन बैंकले रोकेका छन्। विदेशबाट कच्चा पदार्थ ल्याएर तयारी वस्तु बनाएर निर्यात गर्ने दर्जनौं उद्योग कच्चा पदार्थ नभएर उत्पादन बन्दको तरखरमा छन्,’ एक उद्योगीले भने, ‘बैंकलाई एलसी खोलिदिन बारम्बार आग्रह गर्दा पनि अनेकन बहाना देखाएर झुलाइरहेका छन् ।’
‘बैंकले सिधै खोल्दिन पनि भन्दैन। खोल्दिँदा पनि खोल्दिँदैन’ ती उद्योगीले भने, ‘तर, हुँदै नभएको व्यवस्था देखाएर झन्झट मात्रै थपिरहेका छन्।’ एकातिर उत्पादित सामानको बिक्रीमा मन्दी छाइरहेको छ । धेर थोर व्यापार गरेर टिकिरहनुपर्ने अवस्थामा बैंकले थप समस्या सिर्जना गरिदिएका छन् ।
व्यवसायीका अनुसार अहिले दैनिक उपभोग्य वस्तुको खपत ३० देखि ४० प्रतिशतले खुम्चिएको छ । ‘खाद्यान्नको व्यापारमा त्यो तहको मन्दी छाएको छ भने अन्य क्षेत्रको व्यापारको हालत कस्तो होला ?’ एक खाद्य उद्योगीले भने, ‘यस्तो समस्याबाट ग्रसित भइरहेका बेला बैंकले एलसी नखोलिदिएर अतिरिक्त पीडा दिएको छ ।’
सरकारले ४ वटा वस्तुको आयात पूर्ण प्रतिबन्ध लगाएको छ । त्यसभित्र मोबाइल, मदिरा, १५० सीसीमा मोटरसाईकल र पेट्रोलियम पदार्थबाट चल्ने गाडी छन् । केन्द्रीय बैंकले कतिपय वस्तुको एलसी खोल्दा सतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ। व्यवसायीले राखेको बैंक ग्यारेन्टी पनि बैंक फिर्ता दिन तयार भएका छैनन्। जसका कारण व्यवसायीहरु मर्कामा परेका छन्।
‘बैंकहरुले नयाँ एलसीमा अनेकन बहाना देखाएर अवरोध गरिरहेका छन् भने बैंक ग्यारेन्टी फिर्ता गर्न चाहिरहेका छैनन्,’ ती उद्योगी भने, ‘बैंकहरुले ब्यापारमा सहजीकरण गर्नुको साट्टो बखेडा झिकिरहेका छन्।’ बैंकबाट व्यवसायीले अर्बौ रुपैयाँ बैंक ग्यारेन्टीबापत फिर्ता गर्नुपर्ने छ ।