काठमाडौं । चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स (बिवाइडी) को बहुप्रतीक्षित प्रिमियम एसयुभी ‘एटो ३ शनिबार नेपालमा सार्वजनिक भयो ।
नेपालका कर्पाेरेट हस्ती र सञ्चारकर्मीका बीच होटल ह्यात रिजेन्सीमा बरिष्ठ हास्य कलाकार हरिवंश आयार्चले एटो ३ लाई सार्वजनिक गरेका हुन् । लाखेनाच सहित विषेश प्रस्तुतीका बीच आकर्षक तरिकाले गाडीको सार्वजनिक गरिएको थियो ।
नेपालका लागि बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले एटो ३ घरेलु बजारमा उतारेको हो । एटो ३ ले पछिल्लो पटक विश्व बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । ४ दिन अघि भारतमा सार्वजनिक भएको एटो ३ आइतबार मंलोलिया पनि सार्वजनिक हुँदै छ ।
एटो ३ लाई २ महिना अघि नै नेपालमा सार्वजनिक योजना भएपनि चिनियाँ नाका बन्द भएका कारण २ महिनापछि नेपालमा सार्वजनिक भएको हो ।
एटो ३ सार्वजनिक कार्यक्रममा साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले पछिल्लो समय लोकप्रिय हुँदै आएको विद्युतीय गाडीको भिडमा एटो ३ ले सबैको मन जित्न सफल हुने विश्वास व्यक्त गरिन । सबैको रोजाईमा विद्युतीय गाडी परिरहेको र सार्वजनिक गाडीलाई पनि विद्युतीय बनाएर इन्धन खपतमा न्यूनिकरण गर्न आवश्यक रहेको उनको भनाई छ ।
आकर्षक फिचर र लक्जरीयस सुविधाका कारण विश्व बजारमा लोकप्रिय भएको एटो ३ नेपाली उपभोक्ताहरुको मन पनि छिटै जित्ने विश्वास उनले लिएकी छिन् । नेपाली उपभोक्ताहरुलाई छिटोभन्दा छिटो एटो ३ गाडी उपलब्ध गराउनका लागि भारतमा सार्वजनिक भएको ४ दिनपछि नै नेपालमा ल्याइएको उनको भनाई छ ।
एटो ३ का ब्राण्ड एम्बास्टरको रुपमा हरिवंश आचार्य रहेका छन् । गाडी सार्वजनिक गर्दै विद्युतीय गाडीको प्रयोग बढाएर इन्धन खरिदका नाममा विदेशमा जाने अर्बौ विदेशी मुद्रा सञ्चीतिमा ध्यान दिनु पर्ने बताए । विद्युतीय गाडीको प्रयोगले इन्धन खपत घट्नुको साथै वातावरणमा समेत सकरात्मक प्रभाव पर्ने भएकोले सबैले उपभोग गर्न अनुरोध समेत गरे । सरकारले पनि विद्युतीय गाडी प्रयोगमा बढाउनका लागि विषेश छुटको व्यवस्था गर्नुपर्ने समेत बताए ।
बागमती प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले विद्युतीय गाडीको प्रयोग बढाउनका लागि सरकारले आवश्यक नीति तथा नियमहरु बनाइरहेको जानकारी दिए । सरकारी कामकाजमा विद्युतीय गाडी प्रयोगका लागि बागमती प्रदेश सरकारले छलफल समेत अगाडी बढाएको उनले बताए ।
कम्पनीले नेपाल बजारमा एटो ३ को मूल्य करिब ८९ लाख ९० हजार तोेकेको छ । एटो ३ आइतबारदेखि नै नेपाली बजारमा गुड्ने छ । एटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ ।बीवाइडीले तयार पारेको ब्लेड ब्याट्रीले कारलाई पूर्ण सुरक्षित पारेको छ ।
एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ । नेपालमा उपलब्ध बिवाइडीका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ । यसको एक्सिलेरेसन पावर झन उत्कृष्ट छ । एटो ३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्छ ।
एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुनमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ । त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडिएएस) सुविधा पनि यसमा उपलब्ध छ।
एटो ३ को बाहिरी डिजाइन आकर्षक छ । थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन् ।
कम्पनीले नेपालको सडकमा यसअघि बिवाइडीको ई ६ कारलाई उतारिसकेको छ । नेपालको इभी बजारमा बिवाइडीले आफ्नो हिस्सा बढाइरहेको बेला विश्व बजारमा आक्रमक बजार विस्तार गरेका एटो ३ को प्रवेशले झन बढि बजार लिने अपेक्षा कम्पनीले गरेको छ ।