काठमाडौं । व्यवसायी इच्छाराज तामाङसहित तीन जनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहितको इजलासले तामाङ, उनी श्रीमती सिर्जना तामाङ र सिभिल सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष केशवलाल श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको हो।
थुनामा राखेर अनुसन्धान आदेश दिएको हो । तामाङ सिभिल सेभिङसका पूर्वअध्यक्ष तथा पूर्वसांसद पनि हुन् । जिल्ला अदालतको आदेशमा इच्छाराज अहिले पनि थुनामै छन ।
ठगी तथा संगठित अपराधको अभियोगमा थुनामा रहेका इच्छाराजसहित ६ जनाविरुद्ध ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।
गएको पुसमा जिल्ला अदालत काठमाडौंले तामाङलाई ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो । तामाङलगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।
५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधको मुद्दा अदालतमा विचाराधीन छ।
विभागका अधिकारीका अनुसार अनुसन्धानमा तामाङ परिवारविरूद्ध ३ अर्ब २७ करोड बिगो माग गरिएको छ।.
तामाङले सिभिल सहकारीबाट लिएको ऋण व्यक्तिगत सम्पत्ति आर्जनका लागि लगानी, त्यसको विस्तार र व्यक्तिगत आम्दानी बढाउन प्रयोग गरेको अनुसन्धानबाट देखिएको छ।
तामाङले आर्जन गरेको ठूलो सम्पत्ति पब्लिक सेयर र कम्पनीहरूमा ८० करोड रुपैयाँ हाराहारीको सेयर देखिएको छ।
यसैगरी, उनकी श्रीमती र छोरीहरूको नाममा कीर्तिपुर नगरपालिका १ ट्याङ्लाफाँटामा १५ रोपनी जग्गा फेला परेको छ। त्यहीँभित्र तामाङ आफूले थोरै जग्गा राखेको भेटिएको छ।
२०७४ सालमा उनले अंशबन्डा गरी त्यो जग्गा श्रीमती, छोरी र आफ्नो नाममा राखेको पाइएको छ। उक्त जग्गा र त्यहाँको घरमात्रै हालको बजार मूल्यमा ७५ करोड रुपैयाँ बढी हुन आउँछ।
अनुसन्धानमा उनकी छोरीहरूले सिभिल सहकारीबाट करोडौं रकम निकालेर कारोबार गरेको देखिएको छ। बैंक मौज्दात मात्रै करिब १२ करोड रुपैयाँ देखिएको छ।