काठमाडौं । सार्वजनिक निजी साझेदारीमा स्थापना भएको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले १६८ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना बनाउन लगानी बोर्डमा प्रस्ताव गरेको छ ।
चिलिमेले ८७ मेगावाट क्षमताको अर्धजलासय सेती नदी–३ (एसआर–३) र ८१ मेगावाटको बुढीगण्डकी प्रोक आयोजना बनाउने छ । दुई आयोजना बनाउन ३६ अर्ब १२ करोड रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ । बोर्डमा लगानी स्वीकृतिका लागि पेस भएको प्रस्ताव अनुसार एसआर –३ को १९ अर्ब ६६ करोड ६१ लाख र बुढीगण्डकी प्रोकको १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ लागत रहने अनुमान छ ।
पश्चिम सेती जलविद्युत परियोजनाको माथिल्लो भागमा अवस्थित एसआर–३ परियोजना सुदूरपश्चिम प्रदेशको बझाङ्ग जिल्लामा पर्छ । बुढीगण्डकी प्रोक गण्डकी प्रदेशको गोरखा जिल्लामा पर्छ । कम्पनीले २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना सञ्चालनमा रहेको छ ।
सो कम्पनीको अगुवाईमा विभिन्न कम्पनीहरूमार्फत् अतिरिक्त १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत परियोजनाहरू निर्माणाधीन रहेका छन् ।
सेती करिडोरका जलविद्युत परियोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोड्न लागि भारत सरकारको सहुलियत ऋण ( लाइन अफ क्रेडिट) सुविधामा चैनपुर–वनलेक–न्यू अत्तरिया ४०० केभी क्षमताको १५० किलोमिटर लामो प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत् कार्यान्वयन हुँदैछ ।
परियोजनाको विद्युत गृहदेखि चैनपुरसम्म जोड्ने १६ किलोमिटर प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ । त्यस्तै, बुढीगण्डकी प्रोक विद्युत गृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ ।
सेती नदी आयोजना बनाउन चिलिमेले वातावरणीय अध्ययन प्रतिवेदन तयारीको काम थालेको छ । आयोजना बझाङको जयपृथ्वी नगरपालिका पानकोटमा प्रस्ताव गरिएको छ । आयोजनाको बाँध १४ मिटर अग्लो र ६७ मिटर लामो बन्ने चिलिमेले जानकारी दिएको छ ।
बाँधमा ३ लाख घनमिटर क्षमताको पोखरी बन्ने छ । आयोजनाको सुरुङ ४.२५१ किलोमिटर लामो हुनेछ । आयोजनाको विद्युतगृह जयपृथ्वी नगरपालिकाको सुतियामा हुने भएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली विद्युत प्राधिकरणले प्रस्ताव गरेको चैनपुर सबस्टेसनमा जोडिने भएको छ ।
आयोजनाबाट बझाङको जयपृथ्वीका साथै खप्तछान्ना गाउँपालिका, मष्टा गाउँपालिका, छविसपाथिमेर गाउँपालिका र थलारा गाउँपालिका प्रभावित हुने आयोजनाले जनाएको छ ।
नयाँ आयोजनाहरुको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको चिलिमेले जनाएको छ । सेती नदीका साथै ४२० मेगावाटको बूढीगण्डकी प्रोक क्यासकेड र ६० मेगावाटको चुमचेत स्यारखोला आयोजनाको डीपीआर तयारीका लागि अध्ययनको काम भइरहेको चिलिमेले जनाएको छ ।
आयोजनाको विस्तृत इन्जिनियरिङको काम सहायक कम्पनी चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडमार्फत भइरहेको छ ।
प्रस्तावित आयोजना डीपीआर तयारपछि छुट्टाछुट्टै कम्पनीबाट निर्माण हुने भएको छ । हाल आयोजनाहरुको अध्ययनमा भएको खर्चलाई चालु पुँजीमा देखाइएको छ । कम्पनी स्थापना भएपछि स्वामित्व हस्तान्तरण हुने चिलिमेले जनाएको छ ।
आयोजना बनाउन चिलिमेले कर्मचारी सञ्चय कोषबाट ऋण लिने तयारी गरेको छ । ४ आयोजना सञ्चय कोषको ऋण लगानीमा निर्माण सुरु भएको हो ।
नयाँ स्थापना हुने जलविद्युत कम्पनीहरुमा प्रदेश सरकारको पनि सेयर लगानी हुने भएको छ । प्रस्तावित सबै आयोजना जनताको जलविद्युत आयोजनामा रहेका छन । आयोजनामा लगानी जुटाउन सर्वसाधारणलाई ४९ प्रतिशत सेयर बिक्री गर्ने योजना छ ।