काठमाडौं। शिलान्यास गरेको १९ महिनापछि राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको सुरुङ खन्न सुरु भएको छ।
यसअघि सुरुङ प्रवेशद्वार अर्थात् करिब ५० मिटर भाग खनेपछि २०७९ असोज २८ गतेबाट अमेरिकी प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम) ले सुरुङ खन्न सुरु गरेको हो। उक्त मेसिन अमेरिकी प्रविधिको भए पनि चीनमा बनेर नेपाल भित्रिएको हो। असोजमा नेपाल भित्रिएको टिबिएम मेसिनले शुक्रबारबाट सुरुङ खन्न सुरु गरेको हो।
२०७७ फागुन २० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना शिलान्यास गरेका थिए। आयोजनाको सुरुङ खन्ने जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले पाएको छ। २०७७ फागुनमा भएको उक्त सम्झौताअनुसार सुनकोसी–मरिणको १३ किलोमिटर लामो सुरुङ खन्न १० अर्ब रुपैयाँ लाग्ने छ।
टिबिएम मेसिन नेपालमा प्रयोग गर्न लागिएको यो दोस्रो आयोजना हो। यसअघि भेरी बबई डाइभर्सन बहुउद्देश्यी आयोजनामा १२.२ किलोमिटर लामो सुरुङ खन्न पहिलोपटक टिबिएम मेसिन प्रयोग भएको थियो।
भेरी बबईमा २०७२ जेठ २१ बाट मेसिन प्रयोग गरेर २०७६ चैत १५ मा सुरुङ खन्ने काम सम्पन्न गर्नुपर्ने सम्झौता थियो। तर, सम्झौता समयभन्दा ११ महिना पहिला नै मेसिनले सुरुङ खन्ने काम सम्पन्न गरेको भेरी बबई आयोजनाले जनाएको छ। भेरी बबईको सुरुङ पनि कोभेकले खनेको हो।
आयोजनाका अनुसार २०७६ चैत १५ मा सम्पन्न हुनुपर्ने काम २०७६ वैशाख ३ मा सकिएको थियो। नेपालमा हुने भौतिक पूर्वाधारका काम तोकिएको समयमा सम्पन्न नहुनु नियमित प्रक्रिया जस्तै बनिरहेका बेला भेरी बबईमा सुरुङ खन्ने कामले नयाँ रेकर्ड नै राखेको थियो।
सोही प्रकृतिको अर्को राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनमा पनि टिबिएम प्रयोग सुरु भएको हो। सुनकोसी–मरिणमा टिबिएम मेसिन नै प्रयोग गर्नुको कारणबारे आयोजना प्रमुख मित्र बराल भन्छन्, ‘छिटो र सजिलोका लागि मेसिनलाई प्राथमिकता दिइएको हो। उदाहरणका लागि मेलम्ची खानेपानी आयोजनालाई हेर्न सकिन्छ। २६ किलोमिटर सुरुङ खन्न २० वर्ष लाग्यो। अरू आयोजनामा पनि त्यस्तै अवस्था देखेपछि मेसिन प्रयोग गरिएको हो।’
निर्धारित समयमा सकिन्छ काम
सुनकोसी–मरिण–डाइभर्सनमा निर्माणको जिम्मेवारी लिएको चिनियाँ ओभरसिरिज कम्पनी (कोभेक)ले २२ महिनामा सुरुङ खन्ने जनाएको आयोजना प्रमुख बरालको भनाइ छ। तर, आयोजनाले २ वर्ष अर्थात् २४ महिनामा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिदिएको हो।
‘खासगरी निर्माण व्यवसायीले नै २२ महिनामा काम गर्छौं भनेर प्रस्ताव पेस गरेको हो, हामीले केही गरी ढिलाइ भए पनि २ वर्षमा सकिन्छ भनेका हौं।’ क्यापिटल नेपालसँग बरालले भने, ‘निर्माण व्यवसायीले निर्धारण गरेको समय भएकाले भौगर्भिक समस्या नआएमा सुरुङ निर्माण समयमै हुन्छ।’
बाँध, सिँचाइ र विद्युत उत्पादन संरचनासमेत गरी आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान छ। सुरुङ खन्ने काम २ वर्षमा सकिए पनि समग्र आयोजनाको म्याद भने आर्थिक वर्ष २०८२/८३ सम्म छ।
आयोजनामा २०७८/७९ मा २ अर्ब रुपैयाँ खर्च भएको थियो। वर्ष २०७९/८० का लागि २ अर्ब ७१ करोड बजेट प्राप्त भएको छ। आयोजनाले मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुर्याएको छ भने रूख कटानको काम सकिएको जनाएको छ। त्यस्तै सुनकोसी नदीमा बाँध निर्माण गर्न परेको बोलपत्र मूल्यांकन भइरहेको छ।
आयोजनाको मुख्य सुरुङ सुनकोसी र तामाकोसी नदी संगमस्थलबाट ९ सय मिटर सिन्धुलीको खुर्कोटतर्फ १२ मिटर उचाइको बाँध बनाइ निर्माण हुनेछ।
सुनकोसी र तामाकोसीको पानीलाई १३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ।
त्यस्तै सोही आयोजनामा ६६ मिटर उचाइबाट पानी खसालेर ३१ मेगावाट विद्युत उत्पादन गर्ने योजना पनि छ। सिन्धुली र रामेछापमा निर्माण हुने उक्त आयोजनाले बागमती र मधेस प्रदेशलाई जोड्ने छ। आयोजनमा निर्माण हुने सुरुङको चौडाइ पाँच मिटर हुनेछ।
सुनकोसी–मरिण डाइभर्सनले मात्रै तराईको ७७ हजार हेक्टर जमिनमा थप सिँचाइ पुर्याउने छ। यसअघि नै बागमती सिँचाइ आयोजनाले तराईको ४५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याइसकेको छ।
बागमती सिँचाइ आयोजना र सुनकोसी–मरिण डाइभर्सन आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने छ। आयोजनामा बाँध, सुरुङ, विद्युतगृह र नहरका संरचना बनाउन विभिन्न प्याकेजमा बोलपत्र आह्वान भएका छन्।