नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २०७५ फागुन २२ मा विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ जारी गरेसँगै नेपालमा ‘प्राइभेट इक्विटी फन्ड’, ‘भेन्चर क्यापिटल फन्ड’ र ‘हेज फन्ड’ जस्ता विशिष्टिकृत लगानी कोष सञ्चालनको ढोका खुलेको हो । नयाँ उपक्रम, नवीन व्यवसाय उद्यम र सेवा खोल्न आवश्यक पुँजी र वित्तीय व्यवस्था विशिष्टिकृत लगानी कोष (भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्ड(पिइभिसी फन्ड) मार्फत व्यवस्थापन गर्नु हो ।
ग्लोबल इक्विटी फन्ड सञ्चालन अनुमति माग्दै २०७६ वैशाखमा धितोपत्र बोर्डमा आवेदन गरिएकोमा बोर्डले करिब एक वर्षअघि ग्लोबल इक्विटी फन्डसमेत नौ संस्थालाई विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न कोष व्यवस्थापक (फन्ड म्यानेजर) को सैद्धान्तिक सहमति दिँदै आवश्यक पूर्वाधार तयार गर्न अनुमति दियो ।
ग्लोबलले पूर्वप्रतिबद्धता बमोजिम पूर्वाधार निर्माणको काम गरेपछि सेबोन सञ्चालक समितिले २०७९ साउन १८ मा ग्लोबललाई पिइभिसीको कोष व्यवस्थापकको अनुमति (फन्ड म्यानेजर लाइसेन्स) दिने निर्णय गरी साउन २४ मा सेबोनले सञ्चालन अनुमतिको प्रमाणपत्र दियो । तीन वर्ष निरन्तर प्रयासबाट ग्लोबल इक्विटी फन्ड पहिलो पिइभिसी फन्ड बन्न सफल भयो ।
विश्वमा पिइभिसी सुरुवात
सन् १९५० को दशकदेखि प्राइभेट इक्विटी सुरुवात भएको पाइन्छ । त्यतिबेला प्राइभेट इक्विटीबाट व्यापार–व्यवसायमा लगानी सुरुवात भएको देखिन्छ । द्वितीय विश्वयुद्ध अघि, उद्यम पुँजी लगानी (मूलरूपमा विकास पुँजीका रूपमा चिनिन्छ) विशेषगरी धनी व्यक्ति र परिवारहरूको ‘डोमेन’ मा रहेको पाइन्छ ।
व्यावसायिकरूपमा अमेरिकामा १९५८ मा साना व्यापार लगानी ऐन पारित गर्दै उद्यम पुँजी उद्योगतर्फ पहिलो पाइला चालेको थियो । जसअन्तर्गत ‘युएस स्मल बिजनेस एडमिनिस्ट्रेसन (एसबिए) ले निजी साना व्यापार लगानी कम्पनी (एसबिआइसिएस) लाई अनुमति दिएर आधिकारिकरूपमा संयुक्त राज्य अमेरिकामा साना उद्यमी–व्यवसायीका पक्षमा वित्तपोषण र व्यवस्थापनमा मद्दत गरेको थियो ।
१९६० पछि प्रविधिमा आधारित व्यवसाय सुरु भएसँगै भेन्चर क्यापिटल उदय भयो । १९६० र १९७० को दशकमा भेन्चर क्यापिटल फर्महरूले आफ्ना लगानी गतिविधिलाई विद्युतीय (इलेक्ट्रोनिक), मेडिकल वा तथ्यांक प्रशोधन (डेटा प्रोसेसिङ) प्रविधिमा सफलता हासिल गरे । फलस्वरूप, भेन्चर क्यापिटल लगभग प्रविधि फाइनान्सको पर्यायवाची बन्न पुग्यो ।
भेन्चर क्यापिटलले १९८० र १९९० को दशकमा उदाएका ठूला प्रविधियुक्त कम्पनी (एप्पल, फेडरल एक्सप्रेस, फेसबुक, गुगल आदि) का विकासमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । १९६० र १९७० को दशकमा सिलिकन भ्यालीमा प्रविधि क्षेत्रमा भेन्चर क्यापिटल जोडिएको पाइन्छ । एप्पल, अमेजन र ‘ई–बे’ जस्ता धेरै कम्पनी विकास हुनुमा पिइभिसीको ठूलो हात रहेको विश्वास गरिन्छ ।
छिमेकी भारतमा २०११/१२ देखि प्राइभेट इक्विटी फन्डको अवधारणा सुरु भएको पाइन्छ । भारतीय प्रत्याभूति बोर्ड (सेबी) ले वैकल्पिक लगानी कोष नियमावली, २०१२ लागू गरेसँगै भारतमा प्राइभेट इक्विटी फन्डले धेरै छिटो प्रगति गरेको देखिन्छ । उता, वैकल्पिक लगानी कोष नियमावली, २०१५ लागू भएसँगै बंगलादेशमा यस्ता कोष विकास रफ्तारमा भएको देख्न सकिन्छ । हाल बंगलादेशमा यस्ता कोषमार्फत ७० खर्ब अमेरिकी डलरभन्दा बढी रकमबराबरको कोष व्यवस्थापन भएको छ ।
भारतमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलहरूले वर्षेनि ९० अर्ब डलरबराबरको फन्ड उठाइसकेका छन् । भारतमा कूल प्रत्यक्ष वैदेशिक लगानीको ६० प्रतिशतभन्दा बढी हिस्सा पिइभिसी फन्डले आकर्षित गरेको छ । पिइभिसी फन्डले व्यवसायमा नवप्रवर्तनलाई बढावा दिइरहेको छ र हरेक साता १–२ उद्यम ‘युनिकर्न’ (जसलाई अर्ब डलर कम्पनीका रूपमा मूल्यांकन गरिएको छ) बनिरहेका छन् ।
भारतमा पिइभिसी फन्डको रोजाइमा एडटेक, हेल्थकेयर, फर्मास्युटिकल्स, प्रविधि, ई–कमर्सजस्ता क्षेत्र पर्न थालेका छन् र यिनीहरू आगामी दशकमा लगानीका लागि अग्रणी क्षेत्रमा पर्ने अपेक्षा गरिएको छ ।
नेपालमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटल सुरुवात
नेपालमा पनि पिइभिसी फन्डको अवधारणा भारतसँगै अर्थात सन् २०१२ बाटै भएको पाइन्छ । तर, बितेको एक दशकमा सरकारीस्तरबाट खासै काम भएको देखिँदैन । निजी क्षेत्रबाट भने विशिष्टिकृत कोषहरूको सञ्चालन अभ्यास अघि बढेको पाइन्छ । भोटेकोसी जलविद्युत कम्पनीमा भएको अमेरिकी कम्पनीको सेयर खरिद गर्न सिप्रदीले ‘तारा म्यानेजमेन्ट फन्ड’ नामक कम्पनी खडा गरेको थियो । पछि तारा म्यानेजमेन्टले अन्य क्षेत्रमा पनि लगानी गर्न थाल्यो ।
२०१४/१५ देखि ‘डोल्मा इम्प्याक्ट फन्ड’ र ‘बिजनेस अक्सिजन’ जस्ता वैदेशिक लगानीका पिइभिसी फन्डहरूले नेपालमा लगानी गर्न थाले । त्यसैगरी निजी क्षेत्रबाट लगानी कम्पनीका रूपमा खुलेका टिम भेन्चर्स, अल्फा क्यापिटल, टु नोर्थ एसोसिएट्सले पनि नेपालमा लगानीका वैकल्पिक स्रोत उपलब्ध गराउँदै पिइभिसी फन्ड प्रवद्र्धनमा ठूलो योगदान गरे । निजी क्षेत्रका विभिन्न फन्डबाट नेपालमा १५–२० अर्ब रुपैयाँ लगानी भएको अनुमान छ ।
सरकारी तवरबाट भने आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र हेज फन्डलगायत नयाँ उपकरणलाई पुँजी बजारमा प्रवेश गराउने भूमिका खेलेको पाइन्छ । बजेटमा पिइभिसीबार उल्लेख भएपछि धितोपत्र बोर्डले पनि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
त्यसैका आधारमा बोर्डले ‘विशिष्टिकृत लगानी कोष नियमावली, २०७५’ लागू गर्यो । पुँजी बजारमा नयाँ साधन र अभ्यासका रूपमा विशिष्टिकृत लगानी कोषअन्तर्गत प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड र हेज फन्डको व्यवस्था गरियो ।
विशिष्टिकृत लगानी कोष नियमावली जारी भएपछि पिइभिसी फन्डको कोष प्रबन्धकको काम गर्न धितोपत्र बोर्डमा आवेदन दिएका १७ कम्पनीमध्ये नौवटा गत वर्ष छनोटमा परेका थिए । पूर्वाधार तयार भएसँगै बोर्डले कोष प्रबन्धकको काम गर्ने गरी ग्लोबल इक्विटी फन्डसहित अवसर इक्विटी फन्ड, आध्यान्त फन्ड लिमिटेड, एनएमबी क्यापिटल, एनआइसी एसिया क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, नबिल इन्भेस्टमेन्ट बैंकिङ र एनआइबिएल एस क्यापिटललाई सञ्चालन अनुमति दिइसकेको छ ।
प्राइभेट इक्विटी र भेन्चर क्यापिटलबारे वैचारिक स्पष्टता
प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र हेज फन्डका कार्यहरूबारे नेपालमा धेरै नै अन्योल रहेको पाइन्छ । यसले जनमानसमा गलत जानकारी प्रवाहित गरिरहेकाले वैचारिक स्पष्टता आवश्यक देखिएको छ ।
प्राइभेट इक्विटी फन्ड ः लक्षित उद्देश्य प्राप्तिका लागि स्वपुँजी वा स्वपुँजीसँग सम्बन्धित अन्य उपकरण वा लगानी गर्ने कम्पनीका साझेदारहरूको इच्छाबमोजिम लगानी गर्ने कोष सम्झनुपर्छ । प्राइभेट इक्विटी फन्डले राम्रो सम्भावना भएका कम्पनीको इक्विटीमा लगानी गरेर निश्चित समयसम्म कम्पनी सञ्चालन गरी आफ्नो सेयर सर्वसाधारणमा बिक्री गरी धितोपत्र बजारमा सूचीकरण गर्ने व्यवस्थासमेत गर्नसक्छ ।
पुँजी अभावमा सञ्चालन हुन नसकेका यस्ता संस्थालाई प्राइभेट इक्विटी फन्डले पुँजी उपलब्ध गराई व्यवसाय विकास एवं विस्तार गर्न सहयोग गर्छ । प्राइभेट इक्विटी फन्ड अलिक ‘ग्रोथ स्टेज’ को फन्ड हो । बजारमा आफ्नो ब्रान्ड बनाएर वस्तु तथा सेवा स्थापित गराई आम्दानी गरेको वा नाफा कमाएको वा ‘ब्रेकइभन’ मा पुगेको कम्पनीमा लगानी गर्ने उपकरण नै प्राइभेट इक्विटी फन्ड हो ।
भेन्चर क्यापिटल फन्ड: धितोपत्र सूचीकरण नभएका, सञ्चालनको प्रारम्भिक चरणमा रहेका वा सञ्चालन प्रक्रिया अगाडि बढिसकेका नवीनतम ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम–व्यवसाय सञ्चालन गर्न सेयर स्वामित्व पुँजीमा लगानी गर्छ ।
यसले नयाँ र साना सुरुवाती कम्पनीहरूमा संयुक्त लगानी गर्ने गर्छ । बजार परीक्षण भएर सम्भावना बोकेका कुनै सोच वा सोचमा आधारित मूलरूप (प्रोटोटाइप) प्रकृतिको ‘ग्रोइङ स्टेज’ का ‘स्टार्टअप’ मा गरिने लगानी नै भेन्चर क्यापिटल हो ।
हेज फन्ड: लगानीको उच्च जोखिम रहेका जुनसुकै क्षेत्रमा लगानी गर्न सक्ने गरी स्थापना भएको कोष हेज फन्ड हो । हेज फन्डले एकै समयमा उही धितोपत्र किन्ने र बेच्ने (जसलाई लङ र सर्ट पोजिसन भनिन्छ) अवस्था सिर्जनामात्रै गर्दैन हेजको अवस्थामा पनि दोहोरो फाइदा लिनसक्ने स्थिति जन्माउँछ । नेपालमा अहिलेसम्म हेज फन्डबारे नीतिगत व्यवस्था भएको छैन । बोर्डले छिट्टै हेज फन्ड सम्बन्धी आवश्यक नियमावली बनाउला भन्ने अपेक्षा गर्न सकिन्छ ।
के म्युचुअल फन्ड र पिइभिसी फन्ड एउटै हुन् ?
पिइभिसी फन्ड एउटा छुट्टै वैकल्पिक लगानीको माध्यम हो । यद्यपि, यसको नियमन तथा सुपरीवेक्षण गर्ने र स्किम सञ्चालन अनुमति दिने काम धितोपत्र बोर्डले नै गर्छ । पिइभिसी फन्डका केही संरचना सामूहिक लगानी कोष (म्युचुअल फन्ड) जस्तै भए पनि म्युचुअल फन्ड भने होइन । पुँजीबजारमा सेयर, ऋणपत्र (बन्ड÷डिबेन्चर), म्युचुअल फन्डलाई परम्परागत लगानी उपकरण मानिन्छ । स–साना लगानीकर्ताको पैसा जम्मा गरेर म्युचुअल फन्डका व्यवस्थापकले दोस्रो बजारमा लगानी गर्छन् र त्यसबाट प्राप्त हुने लाभका आधारमा प्रतिफल दिन्छन् । म्युचुअल फन्ड सीमित अवधिका लागि सार्वजनिक निष्कासनद्वारा गरिन्छ ।
उता, पिइभिसी फन्ड पनि म्युचुअल फन्डकै शैलीमा पैसा उठाएर सम्पत्ति व्यवस्थापनको काम गर्ने हो । तर, सार्वजनिक निष्कासन गरिँदैन । नेपाललगायत संसारभरि यस्ता फन्डका लगानीकर्ताका रूपमा धनाढ्य व्यापारी, व्यवसायी र वित्तीय संस्था हुन्छन् । नेपालमा नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषहरू पनि सरिक हुन सक्छन् । विश्वभरि र छिमेकी भारतको अभ्यास पनि यस्तै छ ।
यी संघसंस्था तथा व्यक्तिले फन्डमा पैसा लगानी गर्छन्, अनि त्यसैअनुसार फन्डमार्फत क्षेत्र वर्गीकरण गरी लगानी गर्ने गरिन्छ । फन्ड सिर्जनाका लागि प्रतिएकाई ५० लाख रुपैयाँ तोकिएको छ । नेपालमा विशिष्टिकृत लगानी कोष नियमावलीअनुसार पिइभिसी फन्डमा लगानी गर्न चाहनेले कम्तिमा ५० लाख रुपैयाँबराबरका एक एकाई लगानी गर्नुपर्छ । सबैभन्दा सानो फन्ड भने कम्तिमा १५ करोड रुपैयाँको हुनुपर्छ ।
विशिष्टिकृत लगानी कोष भन्नाले विशेषज्ञता प्राप्त कम्पनीद्वारा ठूला लगानीकर्तासँग भएका रकम संकलन गरी कुनै नयाँ तथा चुनौतीपूर्ण व्यवसायमा लगानी गर्न खडा गरिएको कोष भनेर बुझिन्छ । जसलाई वैकल्पिक लगानी कोष पनि भन्ने गरिन्छ । विशिष्टिकृत लगानी कोषमा ठूला लगानीकर्ता र संस्थागत लगानीकर्ताहरूको संलग्नता हुन्छ ।
विशिष्टिीकृत लगानी कोषले संकलन गर्ने पैसाबाट कम्पनीको इक्विटीमा लगानी हुन्छ । यो लगानी उच्च जोखिमयुक्त र उच्च प्रतिफल दिने खालको हुन्छ । उच्च प्रतिफल लिने चाहना राख्ने ठूला लगानीकर्ता र सामूहिक लगानी गर्ने चाहना राख्ने संस्थागत लगानीकर्ताका लागि वैकल्पिक लगानीका माध्यमका पिइभिसी फन्डलाई लिन सकिन्छ ।
संसारको अर्थतन्त्र र यसको विकासलाई नजिकबाट नियाल्दा पिइभिसी फन्डको भूमिका अत्यन्तै ठूलो र उल्लेखनीय मानिन्छ । यस्ता कम्पनी ठूलो पूँजी उपलब्ध गराउने संस्थाका रूपमा परिचित हुन्छन् । बैंकले कसैलाई कर्जा (ऋण) उपलब्ध गराउँछ भने प्राइभेट इक्विटी फन्डले कुनै निजी संस्थालाई पुँजी उपलब्ध गराउँछ । कुनै व्यक्तिसँग केही काम गर्ने योजना छन् तर त्यसका लागि पुँजी अभाव छ भने त्यस्ता व्यक्तिलाई व्यवसाय विस्तार गर्न पुँजी लगानी गरिदिने काम प्राइभेट इक्विटी फन्डले गर्दछ ।
फेरि, कम्पनी सञ्चालन गर्न एकै प्रकारको ज्ञानले पुग्दैन (सूचना प्रविधिको धेरै जानकारी भएको व्यक्तिलाई अन्य व्यवस्थापकीय जानकारी नहुन पनि सक्छ) । कम्पनी सञ्चालन गर्न व्यवस्थापन, कानुनी, प्रविधिलगायत धेरै क्षेत्रको जानकारी चाहिन्छ । यी क्षेत्रमा आवश्यक प्राविधिक सहयोग पनि पिइभिसी फन्डमार्फत उपलब्ध हुन्छन् । त्यसैले पिइभिसी फन्ड पुँजी लगानीमात्र नभएर कम्पनीमा चाहिने प्राविधिक सहयोग उपलब्ध गराएर व्यवसाय ठूलो बनाउन सहयोग गर्ने संस्था पनि हो ।
पिइभिसी फन्डको सहयोगकै कारण आज फेसबुकलगायत विश्वका ठूला कम्पनी स्थापित हुन सम्भव भएको हो । पुँजी बजार विस्तार गर्न, घरेलु स्रोतसाधन परिचालन गर्न, निजी क्षेत्रमा लगानी हुन नसकेर सञ्चित भएको रकम नयाँ तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न तथा लगानी अभावमा सुरु गर्न नसकेका नयाँ तथा उत्पादनमूलक क्षेत्रको विस्तारका लागि रकम संकलन गर्न भरपर्दाे माध्यम पिइभिसी फन्ड हुने सम्भावना छ ।