काठमाडौं । बैंकहरुले महिनैपिच्छे ऋणको ब्याज बढाएको भन्दै सुर्खेतका व्यवसायीले बजार बन्द गरेका छन् ।
सिंगो राज्य नै आर्थिक मन्दीको संघारमा रहेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान दिएका निजी क्षेत्रमा भएको ऋण लगानीको बैंकहरुले ब्याज मनपरी ढंगले महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क थपेर आर्थिक भार बढाएको, ब्याज किस्ताका लागि तारन्तार मानसिक दवाव दिने जस्ता कार्य गरेपछि सुर्खेत उद्योग वाणिज्य संघको पहलमा बजार बन्द गरिएको हो ।
संघका अध्यक्ष लक्ष्मण कँडेलले २७ गते जिल्लास्थित निजी क्षेत्रका प्रतिनिधित्व गर्ने सम्पूर्ण छाता संगठनहरुको संयुक्त बैठक बसी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताए ।
निजी क्षेत्रले उठाएका मागको सुनुवाइ नभए थप र कडा आन्दोलनमा उत्रने बताएका छन् । उनीहरुले कर्जाको ब्याजदर एकल अंकमा कायम गरी स्थायित्व दिनुपर्ने, बैंकहरु विभिन्न शीर्षकमार्फत लिँदै आएको शुल्क लगायतका कुनै पनि महसुल लिन नपाउने, पुरानो चालू पुँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रुपले लागू गर्नुपर्ने, कर्जाको ब्याजदर पुनः संरचना गर्नुपर्ने, बैंकले अघि बढाएका सम्पूर्ण लिलामी प्रक्रियालाई २०७९ चैतमसान्तसम्मका लागि स्थगन गर्ने र नेपाल राष्ट्र बैंकले जारी गर्ने रिपोको ब्याज १ प्रतिशतमा झार्नुपर्ने माग राखेका थिए ।
संयुक्त व्यवसायी संघर्ष समिति बनाएर आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेका हुन् । सुर्खेत उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स सुर्खेत, नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेत, संयुक्त सार्वजनिक यातायात महासंघ, प्याब्सन सुर्खेत, एन प्याब्सन सुर्खेत, उद्योग व्यापार महासंघ (कर्णाली प्रदेश) उद्योग व्यापार संघ सुर्खेत, ट्रक तथा ट्र्याक्टर व्यवसायी संघ सुर्खेत मिलेर बजार बन्द गराएका हुन् । उनीहरुले व्यवसायीलाई असोज मसान्तमा बैंकलाई बुझाउनुपर्ने साँवा ब्याजसमेत नबुझाउन भनेका छन् ।