काठमाडौं । आजदेखि इष्टर्न हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयरसहित ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्कासन गर्न लागेको हो।
यसमध्ये ५ प्रतिशत अर्थात् ३३ हजार ५ सय १५ कित्ता सयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात् १३ हजार ४ सय ६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।
कम्पनीले सर्वसाधारणका लागि बाँकी ६ लाख २३ हजार ३८९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले निष्कासन गरेको सेयरमा छिटोमा कात्तिक १ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा मागअनुसार पर्याप्त आवेदन नपरे कात्तिक १४ गतेसम्म म्याद थप हुनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई ५ करोड ६९ लाख ६९ हजार रुपैयाँ र सर्वसाधारणलाई ६ करोड ७० लाख ३१ हजार रुपैयाँ गरी १२ करोड ४० रुपैयाँ बराबरको सेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ६२ करोड रुपैयाँ पुग्नेछ।