काठमाडौं। तिहार नजिकिएसँगै भाइमसलाका सामान खरिद गर्नेको चहलपहल बढ्न थालेको छ। तर, तिहारका लागि आवश्यक पर्ने भाइमसलाका सामान अभाव रहेको व्यापारीहरूले बताएका छन्।
भन्सार विभागको तथ्यांकले पनि ड्राइफ्रुट्स अर्थात भाइमसलाका लागि आवश्यक सामानको मूल्य गत वर्षभन्दा बढेको देखाएको छ। सामानको मूल्य बढेसँगै ग्राहकले सामान खरिदको मात्रा घटाएको व्यापारीको गुनासो छ।
‘पसलमा भीड देखिए पनि सामान पोहोर/परारको जस्तो धेरै लगेका छैनन्। थेरै–थोरै लिएर जान्छन्, कोभिडपछि राम्रो नभएको व्यापार फेरि डेंगुले बिगारेको छ,’ न्युरोडस्थित मखन गल्लीकी एक व्यापारी भन्छिन्।
तिहारका लागि विशेषगरी ओखर, छोकडा, काजु, किस्मिस, बदाम, पेस्ता, मखनलगायत सामानको कारोबार धेरै हुन्छ। भाइटीका आउन करिब १३/१४ दिन मात्रै बाँकी रहेकाले भाइमसला पसलहरूमा ग्राहकको चहलपहल बढ्नु स्वाभाविक नै हो।
यद्यपि व्यवसायीहरू भने कोरोना संक्रमण सुरु भएसँगै घट्दो क्रममा रहेको व्यवसाय यो वर्ष डेंगुको कारण अझ घटेको बताउँछन्। सामानको मूल्य पनि बढेको र मागअनुसार आयात नहुँदा ग्राहकले चाहेको सामान पाउन नसकेको उनीहरूको भनाइ छ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा भारतबाट ४ लाख ३४ हजार ३२ किलो र इन्डोनेसियाबाट ५ किलो गरी ४ लाख ३४ हजार ३७ किलो नरिवल नेपाल भित्रिएको थियो। सो नरिवल नेपाल भित्रिँदा ९ करोड ६७ लाख १६ हजार रुपैयाँ बिदेसिएको देखिन्छ।
सो नरिवलको संख्या र मूल्यलाई आधार मानेर हिसाब गर्ने हो भने गत वर्ष प्रतिकिलो नरिवल नेपालमा भित्रिँदा अधिकतम २२३ रुपैयाँसम्म परेको देखिन्छ।
सोही नरिवल आर्थिक वर्ष २०७९/८० को भदौमा भारतबाट ४ लाख २४ हजार ६ सय ९७ किलो र मलेसियाबाट ८ हजार किलो गरी कुल ४ लाख ३२ हजार ६ सय ९७ किलो नेपाल भित्रिएको देखिन्छ। उक्त नरिवल खरिद गर्न १० करोड ४९ लाख १२ हजार रुपैयाँ खर्च भएको छ।
सो नरिवलको संख्या र मूल्यलाई आधार मानेर हिसाब गर्ने हो भने यो वर्ष प्रतिकिलो नरिवल नेपालमा भित्रिँदा अधिकतम २४३ रुपैयाँसम्म परेको देखिन्छ। जुन गत वर्षको मूल्यभन्दा २० रुपैयाँले बढी हो।
त्यस्तै गत वर्षको भदौमा ३ लाख ७५ हजार ३ सय ७३ किलो बदाम प्रतिकिलो ६ सय ५ रुपैयाँका दरले नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। सोही बदाम चालू आर्थिक वर्षको भदौमा प्रतिकिलो ७०९ रुपैयाँको दरले १ लाख ४० हजार ४ सय ७३ किलो नेपाल भित्रिएको छ।
बदामको मूल्य गत वर्षभन्दा यो वर्ष नेपाल भित्रिँदा नै प्रतिकिलो १ सय ४ रुपैयाँले बढेको भन्सार विभागको विवरणबाट प्रस्ट हुन्छ। त्यसो त गत वर्षको भदौमा ३ लाख ७५ हजार ३ सय ७३ किलो बदाम नेपाल भित्रिएकोमा यो वर्ष १ लाख ४० हजार ४ सय ७३ किलो मात्रै भित्रिएको छ। जसको कारण बजारमा सामानको अभाव भइ मूल्य थप बढ्ने सम्भावना धेरै छ।
मूल्य बढेपछि थोरै सामान किन्दै ग्राहक
न्युरोडस्थित मखन गल्लीमा रहेको श्रेष्ठ ड्राइफ्रूड्स पसलमा बुधबार बानेश्वरकी मीना पौडेल तिहारको लागि भाइमसला किन्दै थिइन्। विगतका वर्षमा भाइमसलाको हरेक सामान किलोमा किन्ने गरेकोमा यो वर्ष आदि किलो मात्रै किनेको पौडेल बताउँछिन्।
‘मूल्य प्रत्येक वर्ष बढ्दै गएको छ, यसपालि पनि बढेछ। यो वर्षबाट भाइमसलाको सामान कम प्रयोग गर्न लागेको छु’, उनले भनिन्। आफ्नो आम्दनी नबढेको तर, बजार महँगी बढी रहँदा थोरै सामानले काम चलाउनुपर्ने बाध्यता भएको मीनाको भनाइ छ।
‘एउटी चेलीबेटी छु, पाँच जनालाई टीका लगाउनुपर्छ। अब पहिलाको जस्तो खर्च गरेर भाइमसला किन्न सकिँदैन’, उनले थपिन्।
श्रेष्ठ ड्राइफ्रुड्का सञ्चालक श्याम श्रेष्ठ नरिवल र छोकडाको अभााव धेरै रहेको बताउँछन्। श्रेष्ठका अनुसार अन्य सामानमा मूल्य बढे पनि मागअनुसार सामान आयात भइरहेको छ।
तर, नरिवल र छोकडाको मूल्य बढ्नुका साथै आयात कम भएको उनको भनाइ छ। ‘हामीले सिधै आयात गर्दैनौं, आयात गर्नेहरूले सामान छैन भन्छन्’, उनले भने।
न्युरोड गेट छेवैमा रहेको गोदावरी बड्डिखेल स्टोरका अजित न्यौपाने पनि व्यापार घटेको र सामानको मूल्य बढेको बताउँछन् । मखन गल्लीस्थित भवानी स्टोर्सका प्रज्ञा तुलाधार छोकडा, पिस्ता तिहार लागेपछि पसलमा ल्याउन नसकेको बताउँछन्।
क्यापिटल नेपालसँग उनले भने, ‘हामी व्यापारीहरूले नै पाएका छैंनौं ग्राहकलाई कसरी दिनु ?’ कोरोनाले बजार खुले पनि डेगींको कारण व्यापार घटेको उनको बुझाइ छ।