काठमाडौं । ५ वटा संस्थाहरु गाभिएर वा प्राप्ति गरेर १ अर्ब रुपैयाँ बढी चुक्ता पुँजी हुने राष्ट्रियस्तरको लघु वित्तीय संस्थाले काठमाडौं र ललितपुर बाहिर कर्पोरेट कार्यालय खोल्न पाउने भएका छन् ।
लघु वित्तीय संस्थाले हकप्रद सेयर जारी नगरी १ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी पुरा गरेमा काठमाडांैे महानगरपालिका र ललितपुर महानगरपालिका भन्दा वाहिरको क्षेत्रमा स्वीकृति लिई कर्पोरेट कार्यालय र दुईवटा शाखा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
यस्तै कुनै दुई वा सो भन्दा बढी बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने वा प्राप्ति भई एउटा संस्था बनेको कारणले कुनै सञ्चालकको संस्थापक तथा सर्वसाधारण दुवै समुहको सेयर स्वामित्व कायम हुन गएमा त्यस्तो सञ्चालकको हकमा बाँकी कार्यकाल पुरा गर्नलाई वाधा पुगेको नमानिने भएको छ ।
कार्यकाल पुरा भएपछि सोही समूहमा रही थप एक कार्यकाल सञ्चालकमा रहन सक्नेछन्। गाभ्ने गाभिने वा प्राप्ति कार्यलाई प्रोत्साहन गर्न गाभिएको वा प्राप्ति (एक्विजिशन) को कारणले कुनै सम्पत्तिमा नोक्सान हुन गएमा सो नोक्सानमा कर छुट, अन्य कर सम्बन्धी छुट तथा सरकारबाट हुन सक्ने अन्य छुटका लागि राष्ट्र बैंकले सरकार समक्ष आवश्यक सिफारिस गरिदिन सक्ने भएको छ ।
राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष अनुपात पुगेका वा नपुगेका इजाजतपत्रप्राप्त संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति एक्विजिशनका लागि योग्य हुनेछन् । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका संस्थाहरु प्राप्तिका लागि मात्र योग्य हुनेछन ।
संस्थागत सुशासन तथा जोखिम व्यवस्थापन सम्बन्धमा दिइएका निर्देशनहरुको पालना नभएको कारण वित्तीय प्रणालीमा पर्न सक्ने असर तथा गाभ्दा÷गाभिंदा वा प्राप्ति (एक्विजिशन) पश्चात्कायम रहने सञ्चित नाफा/नोक्सानीको अवस्था समेतलाई मध्यनजर गरी राष्ट्र बैंकले कुनै पनि इजाजतपत्रप्राप्त संस्थालाई गाभ्न गाभिन वा प्राप्ति (एक्विजिशन) का लागि अयोग्य मान्न सक्ने भएको छ ।