काठमाडौं । बाराही हाइड्रोपावर लिमिटेडले कात्तिक ४ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।
सो सेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
आयोजना क्षेत्रका वासिन्दाले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा कात्तिक १८ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर ४ गतेसम्म लम्बिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसका साथै नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।