काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा बुधबार काठमाडौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भयो ।
सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ ।
जीबन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने कम्पनीले जनाएकाे छ । पुँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत बराबरको सेयर पुँजी थप गर्ने ।
सेयर पुँजी थप भएपश्चात् सर्वसाधारणका लागि छट्टयाइएको सेयर निष्कासन गर्नेलगायत कम्पनीको प्रवन्धपत्रको उद्देश्यमा कम्पनीले आवश्यकताअनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने जनाएको छ ।
संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेसम्बन्धी प्रस्तावहरुउपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एन्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरिएको योगदान÷आर्थिक सहायताको अनुमोदनसमेत गरिएको थियो ।
सभामा बोल्दै सभाका सभापति डा. अर्यालले बिमितको आवश्यकताअनुसारको विविध बिमा योजनाहरुको उपलब्धता, प्रतिस्पर्धात्मक बजार एवं नियमाकीय प्रयासहरुका कारण तथा वित्तिय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयास लगायत विभिन्न बैंक, वित्तीय संस्थाहरु, बिमा कम्पनीहरु एवं अन्य संघसंस्थाहरुको प्रयासका कारण बिमा बजारको भविष्य अझ राम्रो र सुनिश्चित हुँदै गएको बताए ।
साथै कम्पनीले सर्वसाधारणमा बीमाको पहुँच बढाउने लक्ष्य लिएर दुर्गम स्थानमा समेत सर्वसाधारणहरुलाई सुविधा पुर्याउने क्रममा सातै प्रदेशमा शाखा सन्जाल विस्तार गरी हाल १ सय ४० शाखा तथा उपशाखामार्फत सेवा उपलब्ध गरिरहेको बताए ।