काठमाडौं। पोखराको बाराही ग्रुपले राजधानीको ठमेलमा बिजनेस कम्प्लेक्ससहितको चारतारे होटल सञ्चालनमा ल्याउन लागेको छ।
बाराहीले पोखरा लेकसाइड र सराङकोट तथा चितवन सौराहामा होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ। ग्रुपले होटल व्यवसाय विस्तार गर्न काठमाडौं ठमेलमा सपिङ मलसहितको ९ तला अग्लो चारतारे होटल निर्माण गरिरहेको छ।
ठमेलमा निर्माणाधीन होटल बाराही प्लाजाको नामबाट सञ्चालनमा हुने भएको छ। सपिङ मलसहितको होटल सञ्चालन गर्न कम्पनीले इक्रा नेपाल लिमिटेडबाट ९४ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
बाराही प्लाजा छिट्टै सञ्चालनमा ल्याउने तयारी भएको ग्रुपका कार्यकारी निर्देशक वैभव पौडेलले क्यापिटल नेपाललाई बताए। होटलमा ८० प्रतिशत बैंक ऋण र बाँकी २० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ।
बाराही प्लाजामा ७० प्रतिशत बाराही होटलको लगानी छ। प्लाजाको तीन तलासम्म सपिङ मल र चारदेखि नौ तलासम्म होटल सञ्चालन हुने कम्पनीले जनाएको छ।
प्रस्तावित कम्प्लेक्समा भुइँतला, पहिलो र दोस्रो तलामा आउटलेट, कार्यालय र रेस्टुरेन्टलगायतलाई भाडामा दिने तयारी बाराहीको छ। होटलमा रहने ८० कोठामध्ये आठ सुइट र ७२ डिलक्स हुनेछन्।
ग्रुपले पोखरा लेकसाइडमा होटल बाराही र सराङकोटमा सराङकोट माउन्टेन रिसोर्ट एन्ड स्पा, चितवन सौराहामा बाराही जंगल लजलगायत उच्चस्तरीय होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ।
ठमेलको बाराही होटलले क्षेत्रीय विविधता दिने अपेक्षा छ। मलले आम्दानीमा विविधिकरण गर्ने कम्पनीको भनाइ छ। बराही ग्रुपको पोखरा, चितवन र काठमाडौंमा समेत बलियो उपस्थिति हुनेछ।
सन् २०२२ मा बाराहीले १० करोड ७० लाख रुपैयाँबराबर कारोबार गरेको छ। २०२१ मा १ करोड ७० लाख रुपैयाँमात्र व्यापार गरेको थियो। २०२० मा ९ करोड ९० लाख रुपैयाँ र २०१९ मा १४ करोड ६० लाख रुपैयाँ कारोबार गरेको थियो।
कोरोना महामारी सुरु भएपछि होटलको व्यापार खस्किएको ग्रुपले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
कोरोनाअघि २०१९ मा ६१ प्रतिशत रहेको होटलको अकुपेन्सी २०२० मा ५३ प्रतिशतमा झरेको थियो। कोरोना महामारीअघि होटल अकुपेन्सी ५७ प्रतिशत थियो। २०२१ मा होटलको अकुपेन्सी नौ प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ। होटल अकुपेन्सी घट्दा कम्पनीको आम्दानी ८३ प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ।
सन् १९७८ मा पोखरामा स्थापना भएको बाराही होटल २०१४ मा प्रालिमा रूपान्तरण भएको थियोे। होटलमा हरिप्रसाद पौडेललगायत परिवारको स्वामित्व छ।
बाराही चारतारे होटल हो। होटलमा ८० कोठा छ। होटलको स्वामित्व र व्यवस्थापन होटल बाराहीले नै गर्ने छ। पौडेल परिवारको होटल व्यवसायमा चार दशक लामो अनुभव छ।