पोखरा । ‘सफल व्यवसायीका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित नेपाल उद्योग व्यवसायी महासंघ पोखरा महानगर कमिटिले पोखरामा फुटसल प्रतियोगिता गर्ने भएको छ ।
पोखरा रंगशालामा कात्र्तिक १७, १८ र १९ गते प्रथम वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने लागिएको महानगर कमिटीका महासचिव हेमराज भण्डारीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनका अनुसार खेलकुदको माध्यमबाट विभिन्न पेसा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूबीच आपसी मित्रता अभिवृद्धि गरी व्यावसायिक एकतालाई मजबुत बनाइ स्वस्थ्य रहन अभिप्रेरित गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
गण्डकी प्रदेशको कास्की जिल्लालाई खेलकुद हवका रूपमा चिनाउन साथै खेलप्रतिको उत्साहलाई जगाउन महानगरको प्रत्येक वडामा फुटसलको विकास गर्ने उद्देश्य रहेको प्रतियोगिताका संयोजक तुलबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार ३३ वटै वडाबाट सहभागी हुनका लागि वडाले सिफारिस गरेका टिम हुनुपर्नेछ भने केही व्यावसायिक खेलाडीहरूलाई समेत टिममा सहभागी गराउन पाइने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख र द्वितीय हुने टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । साथै खेलमा उत्कृष्ट खेलाडी, गोलकिपर र हाइस्कोर गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
कार्यक्रममा करिब ७ लाख खर्च हुने र विभिन्न विज्ञापनदाताबाट सहयोग लिएर करिब १० लाख रुपैयाँ संकलन गरि तीन लाख रुपैयाँ बचत गर्ने उद्देश्य रहेको नेपाल उद्योग व्यवसायी महासंघ पोखरा महानगर कमिटि अध्यक्ष हरी भुजेलले जानकारी दिए ।
उनले खेलबाट बचेको रकमलाई व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिने बताए । पोखरालाई खेल पर्यटनका रूपमा विकास गर्ने साथै नयाँ नयाँ खेलाडी उत्पादन गर्नमा समेत यस्ता गतिविधिले सहयोग पुग्ने उनको विश्वास थियो ।