काठमाडौं । नयाँ ब्रोकर (अनुमतिपत्र) लाइसेन्सको सिफारिस लिन २१ कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुगेका छन् । नयाँ ब्रोकरको लाइसेन्स लिन २१ वटा कम्पनी सिफारिस लिन नेप्से पुगेका हुन् ।
बुधबारसम्म नयाँ ब्रोकरका लागि आवेदन दिन सिफारिस मागेका नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । ‘नेप्सेमा ब्रोकर लाइसेन्सको सिफारिसको लागि बुधबार बेलुकासम्म २१ कम्पनीले आवेदन दिएका छन्,’ उनले भने, ‘आवेदन दिने अधिकांश कम्पनीलाई सिफारिस दिइसकेका छैनौं।’
कम्पनीले दिएको निवेदनको आधारमा चाँडै नै सिफारिस प्रदान गरिने पराजुलीले बताए । पराजुलीका अनुसार अहिलेसम्म सेयर प्रो, इन्डेक्स सेक्युरिटीज, पाही इन्भेष्टमेन्ट, प्रोपर्टी, केबिएल सेक्युरिटीज, प्रभु स्टक ब्रोकर, क्यापिटल म्याक्स सेक्युरिटीज, एनएमबी सेक्युरिटीज, भोलेनलेज सेक्युरिटीज, कलश र माछापुच्छ्रे सेक्युरिटीजलगायत अन्य कम्पनीले नेप्सेमा सिफारिसका लागि पुगेका हुन् ।
नेप्सेमा आवेदन दिने अधिकांश कम्पनीले सीमित कार्य गर्ने गरी सिफारिस माग गरेका छन् । अधिकांश कम्पनीले २० लाख रुपैयाँ चुक्ता पुँजी रहने गरी सिफारिस मागेका ती अधिकारीले बताए । हालै हिमालयन बोक्रेज लिमिटेडले भने सीमित कार्य गर्न भन्दै बोर्डमा आवेदन दिइसकेको छ । हिमालयनले २० करोड रुपैयाँ पुँजी पुर्याएर सिमित कार्य गर्ने गरि बोर्डमा आवेदन दिएको हो ।
धितोपत्र ब्रोकरको लाइसेन्स वितरण गर्नकै लागि नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४ संशोधन गरेको हो । संशोधित नियमावलीमा हरेक वर्ष नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने, कार्यक्षेत्रका आधारमा पुँजी वृद्धिदेखि बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स वितरण गर्नेसम्मका व्यवस्था छन्।
नियमावलीमा ब्रोकर छनोट गर्न मुख्य ५ वटा मापदण्ड तय गरिएको छ । जसअनुसार पुँजी र अनुमति प्रदानसम्बन्धी दस्तुरहरू, सञ्चालकहरूको योग्यता, संस्था प्रमुखको योग्यता र सूचना प्रविधि छन । यी मापदण्डका आधारमा ब्रोकर छनोट गरी लाइसेन्स वितरण गरिने बोर्डले जनाएको छ ।
सम्बन्धित क्षेत्रमा तोकिएको पाठ्यक्रमका आधारमा लिखित परीक्षा लिई ब्रोकर लाइसेन्स वितरण गरिँदै आएको पुरानो व्यवस्थालाई हटाइएको छ भने तोकिएको मापदण्ड पूरा गर्ने जोकोहीले पनि ब्रोकर लाइसेन्स लिन पाउने व्यवस्था थप गरिएको छ ।
संशोधित नियमावलीमा सीमित र पूर्ण कार्य गर्ने गरी २ प्रकारका ब्रोकरको परिकल्पना गरिएको छ । सीमित कार्य गर्ने ब्रोकरका लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने ब्रोकरका लागि न्यूनतम ६० करोड रुपैयाँ तोकिएको छ । सम्बन्धित ग्राहकको नामबाट ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री गर्ने ब्रोकरलाई सीमित कार्य गर्नेका रूपमा तोकिएको छ । हाल सञ्चालनमा रहेका ५० ब्रोकरले यही कार्यक्षेत्रभित्र रहेर व्यवसाय गरिरहेका छन् ।
नियमावलीमा स्टक डिलर (आफ्नो नामबाट धितोपत्र खरिद वा बिक्री गर्ने तथा धितोपत्र दलाल, धितोपत्र प्रत्याभूति र योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्ने) का लागि न्यूनतम १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीको प्रस्ताव गरिएको छ । नयाँ ब्रोकरले लाइसेन्स लिनुअघि नै र पुराना ब्रोकरले पनि नियमावली लागू भएको २ वर्षभित्र तोकिएको चुक्ता पुँजी पुर्याउनुपर्ने बोर्डले जनाएको छ ।
नयाँ ब्रोकर खोल्नका लागि असोज ३१ गतेसम्म आवेदन दिन सकिने समय रहेको छ । उक्त अवधिसम्म आवेदन दिएका कम्पनीबाट योग्यलाई छनौट गरेर पूर्वाधार तयार गर्न अनुमित दिने र बोर्डले तोकेको मापदण्डअनुसार पुर्वधार तयार पारेपछि ब्रोकर सेवा सञ्चालन गर्न बोर्डले अनुमति दिनेछ ।
बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि असोज २ गते ३० दिनभित्र आवेदन दिन भन्दै सूचना जारी गरेको छ । त्यसको अवधि ३१ गतेसम्म रहेको छ । बोर्डले असोज २ गते नै बस्तु विनियम बजार सञ्चालनका लागि र नयाँ स्टकका लागि पनि आवेदन माग गरेको छ । ४५ दिन भित्र आवेदन दिनुपर्ने छ । त्यसको समय कात्तिक १५ गतेसम्म रहेको छ ।
अहिलेसम्म कुनै पनि कम्पनीले वस्तु विनियम बजार र नयाँ स्टकका लागि आवेदन नदिएको बोर्डले जनाएको छ । बोर्ड एउटा निजी क्षेत्रको स्टकलाई र २ वटा वस्तु विनियम बजारलाई अनुमति दिने तयारी गरेको छ ।