गलकोट । अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्याएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्याएको छ । यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।
धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । “हामीले सबै पालिकामा लगातारको वर्षाले पु¥याएको क्षतिको विवरण संकलन गर्न भनेका छौँ, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ”, उनले भने, “हालसम्म निसीखोलाको कागती र किबीखेतीमा क्षति पुर्याएको छ भने राम्रो धानबाली हुने क्षेत्रमा केही धान ढलेको पाइएको छ ।”
निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मीको किबी फार्ममा बाढी पसेर क्षति पुर्याएको छ भने निसीखोलाकै रमिलाल क्षेत्रीको कागतीको बगैंचा बगाएको छ । जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका केही क्षेत्रमा धानबाली पानीले ढलाएको छ ।
अत्यधिक वर्षाका कारण धानबाली ढलेको कृषकले बताएका छन् । बागलुङको दक्षिणि क्षेत्र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा लगातार परेको वर्षाका कारण हिउँदे बालीमा क्षति पुर्याएको छ । बाला पसाउन लागेको धान र कोदोबाली तथा तरकारी बालीमा नोक्सानी पु¥याएकोे जैमिनी–१० किटेनीका नरबहादुर छन्त्यालले बताए ।
बागलुङमा गत वर्ष ५ हजार ८ सय ५० हेक्टर जमिनमा धानखेती गरिएको थियो भने यो वर्ष ६ हजार हेक्टर जमिनमा धानखेती गरिएको छ ।