काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सका लागि पहिलो आवेदन परेको छ। हिमालयन ब्रोकरेज लिमिटेड नामक कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि पहिलो आवेदन दिएको हो ।
कम्पनीले सीमिति कार्य गर्न नयाँ ब्रोकर लाइसेन्स माग गरेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता तेजप्रसाद देवकोटाले बताए । बोर्डले असोज २ गते नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुलाएको हो । बोर्डले योग्य तथा इच्छुक कम्पनीलाई ३० दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।
जसमा हालसम्म कम्पनीले सीमित कार्य गर्न नयाँ लाइसेन्सका लागि आवेदन दिएको हो । ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४ संशोधन गरेर बलियो ब्रोकर प्रणाली ल्याउने प्रक्रिया अघि बढाएको हो ।
संशोधित नियमावलीमा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने, कार्यक्षेत्रका आधारमा पुँजी वृद्धिदेखि बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स वितरण गर्नेसम्मका व्यवस्था छन् ।
नियमावलीमा ब्रोकर छनोट गर्न मुख्य ५ वटा मापदण्ड तय गरिएको छ । जसअनुसार पुँजी, अनुमति प्रदानसम्बन्धी दस्तुरहरू, सञ्चालकहरूको योग्यता, संस्था प्रमुखको योग्यता र सूचना प्रविधि छन् ।
यी मापदण्डका आधारमा ब्रोकर छनोट गरी लाइसेन्स वितरणको प्रक्रिया सुरु भएको छ । सम्बन्धित क्षेत्रमा तोकिएको पाठ्यक्रमका आधारमा लिखित परीक्षा लिई ब्रोकर लाइसेन्स वितरण गरिँदै आएको पुरानो व्यवस्थालाई हटाइएको छ भने तोकिएको मापदण्ड पूरा गर्ने जोकोहीले पनि ब्रोकर लाइसेन्स लिन पाउने व्यवस्था छ ।
बोर्डले तोकिएको समयमा तोकिएको मापदण्ड पूरा गरेका सबै आवेदनले नयाँ लाइसेन्स पाउने जनाएको छ । बोर्डमा सीमित र पूर्णकालिन गरी दुई किसिमका काम गर्न नयाँ लाइसेन्स वितरण गर्न लागिएको हो ।
संशोधित नियमावलीमा सीमित र पूर्ण कार्य गर्ने गरी २ प्रकारका ब्रोकरको परिकल्पना गरिएको छ । सीमित कार्य गर्ने ब्रोकरका लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने ब्रोकरका लागि न्यूनतम ६० करोड रुपैयाँ तोकिएको छ ।