काठमाडौं। मेलम्ची खानेपानी आयोजनामा दोस्रो पटक अस्थायी पुनर्निर्माण सुरु भएको छ। दसैं सकिएसँगै मेलम्चीको फेरि अस्थायी पुनर्निर्माण सुरु भएको आयोजनाले जनाएको छ।
मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजन इन्जिनियर (सिडिई) राजेन्द्रप्रसाद पन्तका अनुसार इन्जिनियर तथा निर्माण व्यवसायीहरूको टोली आयोजना स्थलमा गएको छ।
दसैंपछि अर्थात् असोज २३ गते खानेपानी आयोजना स्थलमा इन्जिनियर तथा निर्माण व्यवसायीहरू गएको सिडिई पन्त बताउँछन्। तर, हालसम्म यो वर्षको क्षतिको विवरण भने एकिन नभएको उनको भनाइ छ।
‘सरहरू जानुभएको छ, निर्माण व्यवसायीहरू पनि परिचालित छन्।
यो वर्ष के कति मर्मत गर्नुपर्छ भन्ने रिपोर्ट आइसकेको छैन।’ क्यापिटल नेपालसँग उनले भने, ‘अरु क्षति धेरै भएको छैन होला किनभने हामीले सबै ठाउँमा बर्खा लाग्नुभन्दा पहिले नै बन्द गरेका थियौं। तर, पहुँचमार्ग बनाउनुपर्छ, त्यो बिग्रिएको छ।’
मेलम्ची खोलामा गएको बाढीले खानेपानी आयोजनासम्म पुग्ने ८ किलोमिटर सडकमा क्षति पुर्याको आयोजले जनाएको छ। सिडिई पन्तका अनुसार गत वर्ष पनि सोही स्थानमा खोलाको बगरबाट बाटो बनाएर अस्थायी पुनर्निर्माण गरिएको थियो।
यो वर्ष पनि पहुँचमार्ग निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ। यद्यपि क्षतिको विवरण संकलन नभएकाले पुनर्निर्माणको लागत भन्न नसकिने पन्त बताउँछन्। ‘भर्खरै आयोजना स्थलमा टोली गएको छ, पहुँचमार्गबाहेक अरु के–के बनाउनुपर्छ भन्ने रिपोर्ट आएपछि अस्थायी पुनर्निर्माणको खर्च थाहा हुन्छ’, उनले भने।
यो वर्ष आयोजना आफैंले पहुँचमार्ग निर्माण गर्ने भएको छ। गत वर्ष मेलम्ची खानेपानी आयोजनाले बजेट उपलब्ध गारएर हेलम्बु गाउँपालिकाले पहुँचमार्ग निर्माण गरेको थियो।
तर, यो वर्ष ८ किलोमिटर पहुँचमार्ग पनि केही भाग पालिका र केही आयोजना आफैंले मर्मत गर्ने योजना रहेको बताइएको छ। आयोजनाले हेडबक्स तथा अम्बाथान अडिटतर्फ र मेलम्ची बजारतिर गाउँपालिकाले सडक मर्मत गर्नेछन्।
अस्थायी रुपमा पुनर्निर्माण गरेर मेलम्चीको पानी तिहारपछि काठमाडौंमा ल्याउन सकिने सिडिई पन्त बताउँछन्। गत वर्षको जस्तो ठुल्ठूला ढुंगा तथा गेग्रान बाढीले नल्याएको कारण तिहारपछि पानी ल्याउन सकिने उनको भनाइ छ।
दुई दशकभन्दा बढी समय लगाएर निर्माण गरिएको मेलम्ची खानेपानी आयोजना सञ्चालनको तयारी गर्दै गर्दा २०७८ असार र साउनमा मेलम्ची खोलामा गएको बढीले क्षति पुगेको छ। त्यसयता अस्थायी पुनर्निर्माण गर्दै काठमाडौंमा पानी ल्याउने योजना अगाडि सारिएको छ। गत वैशाखमा अस्थायी रुपमा ल्याइएको मेलम्चीको पानी बर्खा लागेसँगै जेठ १८ गतेबाट बन्द गरिएको थियो।
अब वर्षा कम भएसँगै फेरि काठमाडौंमा पानी ल्याउने तयारी आयोजनाको छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउँछ। तर, उपत्यकामा दैनिक ४३ करोड लिटर माग रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को भनाइ छ।