काठमाडौं। अमेरिकाका ७३ जना अर्बपति ‘प्राइभेट जेट’ लिएर नेपाल घुम्न आएका छन्।
विश्वमा साहसिक पर्यटन (एडभेन्चर टुरिज्म) का लागि प्रख्यात नेपाल पछिल्लो समय बिदा मनाउने धनाढ्यहरूको रोजाइमा परिरहेको छ। यहीबीच अमेरिकी अर्बपतिहरूको टोली त्यहाँको नेसनल जोग्राफिक सोसाइटीको प्राइभेट जेट ‘बोइङ ७५७’ चार्टर गरेर नेपाल आएका हुन्।
भियतनामबाट उडेको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान ९ः३७ बजे अवतरण गरेको थियो। उनीहरू नेपालका विभिन्न गन्तव्य घुम्न आएका हुन्। तर, मौसम खराबीका कारण नेपाल बसाइ छोट्ट्याएर भुटान जाने तय गरेका छन्।
खासमा उनीहरू चार्टर जहाज लिएर विश्व भ्रमणमा निस्किएका हुन्। अमेरिकी अर्बपतिहरूको टोलीमा नेसनल जोग्राफिकल सोसाइटी सञ्चालक समितिका सदस्य सहभागी छन्। भ्रमण टोलीमा को–को सहभागी छन् भन्ने सार्वजनिक गरिएको छैन।
उनीहरूले चार्टर गरेर ल्याएको बोइङ ७५७ सिरिजको जहाज २ सय ३३ सिट क्षमतायुक्त भए पनि ‘भिआइपी’ उडानमा प्रयोग गरिने भएकाले बिजनेस क्लासका ८० सिटमात्र राखिएका छन्।
उनीहरूले जोडीका लागि प्रतिव्यक्ति ९४ हजार ९ सय ९५ अमेरिकी डलर र एकल बस्न प्रतिव्यक्ति १ लाख ४ हजार ४ सय ९० डलर तिरेका छन्।
काठमाडौंबाट मुस्ताङको ल्होमान्थाङसम्म जाने भ्रमण तालिका (आइटिनरी) लिएर आएका उनीहरूले मौसम खराबीका कारण एक रातमात्र काठमाडौंमा बिताउनेछन्। त्यही भएर उनीहरूले मुस्ताङ भ्रमण रद्द गरी मंगलबार काठमाडौं उपत्यकाका विभिन्न गन्तव्यको दृश्यावलोकन गरेका छन्। उनीहरू अहिले काठमाडौं बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका छन्।
‘मुस्ताङको ल्होमान्थाङदेखि चितवनको मेघौली सेराइमा बस्नेसम्मको उनीहरूको योजना खराब मौसमका कारण रद्द हुन पुग्यो,’ अमेरिकी अर्बपतिहरूको भ्रमण व्यवस्थापनमा संलग्न स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘मौसमकै कारण नेपालको बसाइ घटाएर भुटान जाने भए। नत्र, एक साता नेपाल घुम्ने आइटिनरी थियो।’
मौसम खराब नभएको भए बुधबार काठमाडौंबाट पोखरा र पोखराबाट जोमसोमसम्म जहाजमा जाने र त्यहाँबाट गाडी लिएर ल्होेमान्थाङ पुग्ने कार्यक्रम तय भएको थियो। तर, केही दिनदेखि मौसम बिग्रिएकाले ती गन्तव्य घुमघामको योजना रद्द गरेर भुटान जान लागेका हुन्।
उनीहरु बुधबार विहान धुलिखेलमा ब्रेकफास्ट खाएर भुटान जानेछन््। भुटान एयरलाइन्सको चार्टर जहाज आएर उनीहरूलाई लिएर जाने छ। दुई दिन भुटानका थिम्पु र पारो घुमेर शुक्रबार काठमाडौं फर्किने छन् र सिधै त्रिभुवन विमानस्थलबाट आफ्नै चार्टर जहाज लिएर भारत जानेछन्।
भुटान एयरलाइन्सको चार्टर जहाज अमेरिकी अर्बपतिहरूलाई लिनमात्र बुधबार काठमाडौं आउने र दुई रात त्यहाँ बसेर शुक्रबार नेपाल ल्याइदिने छ। त्यतिन्जेल उनीहरूले ल्याएको चार्टर जहाज त्रिभुवन विमानस्थलमै बस्ने छ। शुक्रबार भारत जाने र त्यहाँ ताजमहल लगायत गन्तव्य घुम्ने कार्यक्रम तय भएको छ।
विश्व भ्रमणमा निस्किएका अमेरिकी अर्बपतिहरूले आफ्नो भ्रमण सूचीमा नेपाललाई समेत राखेका हुन्। २४ दिनका लागि घुम्न निस्किएका उनीहरू १३औं दिनमा नेपाल आइपुगेका हुन्।
अमेरिकाको वासिङटन डिसीबाट सुरु भएको उनीहरूको यात्रा पेरु, चिली, आइसल्यान्ड, अस्ट्रेलिया, कम्बोडिया हुँदै नेपाल आइपुगेको हो।
उनीहरू नेपालबाट भुटान, भारत, तान्जानिया, जोर्डन, मोरक्को र त्यहाँबाट फेरि अमेरिका फर्कने आइटिनरी छ।
तस्विर सौजन्य : क्याप्टेन सुरज भण्डारी