काठमाडौं । लागत मूल्य २५ पर्ने २० लिटर जारको मूल्य सरकारले ४७ रुपैयाँ तोकिदिएको छ । सर्वसाधारणले दैनिक उपभोग गर्ने जारको पानीमा सरकारले चर्को मूल्य निर्धारण गरिदिएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको मूल्य ४७ र एक लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ तोकिदिएको हो । यद्यपि विभागले नै जारको अधिकमत खुद्रा मूल्य ५० रुपैयाँ तोकेको थियो । अहिले ३ रुपैयाँ घटाएर मूल्य निर्धारण गरेको हो ।
विभाग आफैले गरेको एक अध्ययन अनुसार उद्योगले एक जार पानी औसत २५ रुपैयाँ पर्छ । फेरि सरकार आफैले मूल्य निर्धारण गर्दा प्रतिजार ४७ रुपैयाँ उपभोक्ता मूल्य तोकिदिएको हो ।
यस अघि २०७७ सालमा सर्वसाधारणका लागि अधिकतम मूल्य ५० रुपैयाँ निर्धारण गरेको थियो । त्यसअघिसम्म सर्वसाधारणले एक जार पानी किन्दा औसतमा ३५ देखि ४० रुपैयाँ तिरिरहेका थिए । सरकारी व्यापारीलाई चर्को नाफा दिएर पानीको मूल्य निर्धारण गरिदिएको उपभोक्तकर्मीले आरोप लगाएका छन् ।
विभागले काठमाडौं उपत्यकामा २० लिटरको जार पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, उपत्यकामा १ लिटरको बोटलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ कायम गरेको छ ।
विभागले सार्वजनिक गरेको मूल्यमा २० लिटरको जारको मूल्य घटाएपनि एक लिटरको बोटलमा भने मूल्य यथावत नै राखेको छ । त्यस्तै उपत्यका बाहिर एक जार पानीको अधिकतम मूल्य ६० रुपैयाँ र १ लिटरको बोटलको मूल्य २० रुपैयाँ कायम गरेको छ । सरकारी कर्मचारीकै आर्थिक चलखेलका कारण पानीको मूल्य बढेको उपभोक्ताकर्मीको आरोप छ ।
काठमाडौं बाहिर अहिले करिब ५०–६० हजार जार र करिब १० हजार बोतलको पानी बिक्री हुने गरेको छ । काठमाडौंमा ८० प्रतिशत प्रशोधित पानीको बजार छ । यद्यपि, काठमाडौंको उपत्यका र बाहिर समान संख्यामा पानी उद्योग सञ्चालनमा छन् ।
निर्धारण मूल्य भन्दा बढीमा पानि बिक्री वितरण गरेको पाइएका उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम बिक्रेतालाई कारवाहि गर्ने विभागले जनाएको छ ।