काठमाडौं । चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स’ (बिवाइडी) को बहुप्रतीक्षित प्रिमियम एसयुभी ‘एटो ३’ आगामी शनिबार नेपालमा सार्वजनिक हुने भएको छ।
नेपालका लागि बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले एटो ३ सार्वजनिक गर्न लागेका हो। एटो ३ आज मंगलबार छिमेकी भारतमा सार्वजनिक गरिएको छ। साइमेक्सले यसअघि नै एटो ३ नेपालीमा सार्वजनिक गर्ने जनाए पनि विविध कारण सम्भव भएको थिएन।
कम्पनीले नेपाल बजारमा एटो ३ को मूल्य करिब ९० लाख रुपैयाँ पर्ने जनाएको छ।
कम्पनीका अनुसार एटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ। एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ। नेपालमा उपलब्ध बिवाइडीका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ। यसको एक्सिलेरेसन पावर झन् उत्कृष्ट छ। एटो ३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्छ।
फिचर
एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुसमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ। त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्सोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडिएएस) सुविधा पनि यसमा उपलब्ध छ।
आवरण
एटो ३ को बाहिरी डिजाइन आकर्षक छ। थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन्।