काठमाडौं । चालू आर्थिक वर्ष २०७६/०७७ मा आधा दर्जनभन्दा बढी राष्ट्रिय महत्त्वका ठूला परियोजना सम्पन्न हुने भएका छन् । सडक, ऊर्जा, प्रसारण लाइन, खानेपानी र विमानस्थललगायत ठूला परियोजना एक वर्षभित्रै सम्पन्न हुँदैछन् ।
सार्वजनिक तथा सर्वसाधारणको लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न भएर विद्युत् उत्पादन हुनेछ । आउँदो चैतसम्म एउटा र असारसम्म सबै युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । विसं २०६८ सालबाट निर्माण सुरु भएको यस आयोजनाबाट २०७६ चैतबाट व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । भूकम्प र नाकाबन्दीले गर्दा आयोजनाको काम २ वर्ष प्रभावित भएपछि सम्पन्न हुन ढिलाइ हुन लागेको हो ।
झन्डै दुई दशक अघिदेखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना चीनको सिनो हाइड्रो कर्पोरेसनसँग पुनः ठेक्का सम्झौता भएको छ । इटालीको कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)सँग ठेक्का तोडिएपछि बाँकी कामको जिम्मा सिनोले पाएको हो ।
काठमाडौं उपत्यकाबासीको तिर्खा मेटाउने परियोजनाका रुपमा मेलम्ची खानेपानी आयोजना पनि यसै वर्ष सम्पन्न हुने चरणमा छ । निर्माणको अन्तिम चरणमा सीएमसी भागेपछि आयोजना झन्डै ६ महिनादेखि अलपत्र रह्यो । सिनोसँग १२ महिनाभित्र सुरुङको काम सक्न ८५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो । तर, सिनाे हाइड्राेले छ महिनाभित्र अायाेजना सम्पन्न गर्ने बताएकाे छ ।
त्यस्तै, रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना पनि यस वर्ष नै सम्पन्न हुने चरणमा छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत् निर्माणाधीन उक्त आयोजनाले आउँदो २०७६ असारसम्म विद्युत् उत्पादन गर्दैछ । आगामी सन् २०१९ डिसेम्बरभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ । यो आयोजनामा पनि सर्वसाधारणको लगानी छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि तीव्र गतिमा अघि बढेको छ । आगामी २०१९ डिसेम्बरभित्र आयोजनाका काम सम्पन्न गर्ने र सन् २०२० मार्चभित्र व्यावसायिक उडान गर्ने आयोजनाको लक्ष्य छ ।
विद्युत् प्रसारण लाइनतर्फ महत्त्वपूर्ण मानिएको ढल्केबर मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइन यसै वर्ष ४०० केभीमा चार्ज हुँदैछ । अहिले २२० केभीमा चार्ज भइरहेको लाइनको स्तरोन्नति गरी सन् २०१९ डिसेम्बरभित्र ४०० केभी क्षमतामा लाइन चार्ज गरिने विद्युत् प्राधिकरणले जनाएको छ । उक्त लाइन बनेपछि नेपाल, भारतबीच झन्डै १ हजार २०० मेगावाट विद्युत् लेनदेन गर्न सकिने छ । जुन, विद्युत् निर्यात र इनर्जी बैंकिङका हिसाबले महत्त्वपूर्ण मानिन्छ ।
यस वर्ष रेल सेवा पनि सञ्चालन हुने अपेक्षा छ । जयनगरदेखि कुर्थासम्म झन्डै ३४ किलोमिटर लामो रेलमार्ग ट्रयाकबेड तयार भइसकेको छ । रेल खरिदका लागि सम्झौता भई रेल सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको रेल विभागले जनाएको छ । दुई ओटा डेमो रेल खरिद गरी आगामी तीन महिनाभित्र सञ्चालन गर्ने योजना रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।
यता, सडक निर्माणतर्फ, उपत्यकाभित्रको नागढुंगा–कलंकी सडक आगामी तिहारसम्म सम्पन्न गर्ने लक्ष्य छ । सडक निर्माण र विस्तारको धेरैजसो काम सम्पन्न भएको र केही दुरी सडक विस्तार गर्ने काम बाँकी छ । जुन, आउँदो डेढ महिनाभित्र सम्पन्न गर्ने सडक विभागले जनाएको छ । साढे १२ किलोमिटर सो सडक बनेपछि त्यसक्षेत्रमा हुने जाम, धूलोधुँवा र दुर्घटनाको जोखिम कम हुने अपेक्षा छ ।